Logo

मेरो प्रतिस्पर्धी कांग्रेस होइन, एमाले होः पुष्करनाथ ओझा



काठमाडौं, २४ कात्तिक । कैलाली ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेको उम्मेदवार मात्र भएको बताएका छन् ।
‘प्राविधिक रुपमा म स्वतन्त्र र दलविहीन उम्मेदवार हुँ । तर मतदाताको तहमा बुझ्दा सर्वदलीय उम्मेदवार हुँ । मलाई यहाँका सबै दलका कार्यकर्ताले मतदान गर्छन् । जनताले दलले निष्कासित गरेर के भो र, हामी छौं भनेका छन् । मलाई तिमी चुनाव नलड भन्ने कोही भएन । मलाई पार्टीको समर्थन किन चाहियो, जनताको समर्थन छ मलाई । म चुनाव लडेपछि कांग्रेसको उम्मेदवार प्रतिस्पर्धामा हुँदैन । मेरो प्रतिस्पर्धी एमाले हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ओझाले भने ।
उनले दललाई पारिवारिक यन्त्र बनाउन चाहनेहरुले आफूलाई दलविहीन पारेको आरोप पनि लगाए । ओझाले भने, ‘म दलको कार्यकर्ता थिएँ । दुई वर्ष पहिले मलाई दलबाट निकाले । मैले कसैलाई हराएको थिइनँ । अन्तर्घात पनि गरेको थिइनँ । तत्कालीन उम्मेदवारलाई मैले सहयोग गर्न सक्दिनँ, मेरो आत्मसम्मानले दिँदैन भन्ने सन्देश पठाएको थिएँ । कतै पब्लिक मिटिङ वा क्याम्पेनिङ गरेको थिइनँ । म चुनावभरि घरमै बसें । मैले कसैलाई धोका दिइनँ । प्रजातान्त्रिक पार्टीमा आफू सहमत नभएको निर्णयमा संलग्न नहुने हक हुन्छ । समयमै जानकारी दिनेलाई असल मानिस भनिन्छ । तर म निकालामा परें ।’



प्रतिक्रिया दिनुहोस्