Logo

शेरबहादुर देउवा र एनपी सावदले काम गरेको भए सुदूरपश्चिम स्वर्ग बनिसक्थ्योः धामी



काठमाडौं, २४ कात्तिक । नेकपा एमाले कञ्चनपुर २ का उम्मेदवार नरबहादुर धामीले स्थानीय तहको नतिजाका आधारमा प्रतिनिधिसभाको निर्वाचन विश्लेषण गर्न नहुने बताएका छन् ।
‘कसैकसैले स्थानीय तहको नतिजा हेरेर विश्लेषण गरेका छन् । परस्पर विरोधी पक्षबीचको गठबन्धन जनताले रुचाएका छैनन् । गठबन्धनले जता भन्यो, त्यतै जाने जनता गाईबस्तु हुन् र ? निर्वाचनको माहोल एमालेको पक्षमा छ । हामी विजयको नजिक छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै धामीले भने ।
उनले पटक पटक सांसद र मन्त्री भए पनि कांग्रेसका एनपी सावदले कुनै पनि काम नगरेको आरोप पनि लगाए । धामीले थपे, ‘एनपी सावद ३० वर्षदेखि चुनाव लडिरहनुभएको छ । दुईचोटि मन्त्री बन्नुभयो । तर यहाँको विकास र भाग्य बदल्नका लागि कुनै काम गर्नुभएको छैन ।’
निवर्तमान सांसद धामीले सावदले मात्र नभएर प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सुदूरपश्चिमलाई केही पनि नगरेको आरोप लगाए । उनले भने, ‘शेरबहादुर देउवाले प्रधानमन्त्री हुँदा दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाएको भए, पश्चिम सेती अघि बढाएको भए, धनगढीमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाएको भए, गेटा मेडिकल कलेज बनाइदिएको भए सुदूरपश्चिम स्वर्ग बन्ने थियो ।’ धामीले आफ्नो क्षेत्रमा ५ सय उद्योग खोल्ने, आरक्षपीडितको क्षतिपूर्ति दिने, बहुप्राविधिक शिक्षालय खोल्नेलगायतका एजेन्डा अघि सारेका छन् ।



प्रतिक्रिया दिनुहोस्