Logo

फेरि पनि प्रधानमन्त्री हुने शेरबहादुर देउवा नै होः एनपी सावद (भिडिओसहित)



काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर-२ का उम्मेदवार एनपी सावदले यसपटक आफ्नो जितमा ढुक्क रहेको बताएका छन् ।

‘जनताले मलाई निकै स्नेह र माया गरेका छन् । २०७४ मा दुई वाम दलको गठबन्धन भएकाले परिणाम मेरो पक्षमा आएन । अहिले एमालेले कुन मुखले जनतासँग मत माग्ने ? एमाले आफैं हार्ने बाटोमा लागेको हो । हिजो दुई तिहाइ दिएको होइन ? विकासका काम केही पनि अघि बढेनन् । अब उसले हामीलाई आक्षेप लगाउन मिल्दैन । मेरो जित निश्चित छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सावदले भने ।

नेता सावदले कृषि क्रान्तिको मुद्दा आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने, ‘म सिँचाइमन्त्री हुँदा महाकाली तेस्रो सुरु भयो । मूल नहर बनिसकेको छ । सहायक नहर बन्ने क्रममा छन् । यसले पूरै कञ्चनपुर र कैलालीका केही भागमा सिँचाइ पुग्छ । यसले कृषिमा आधारित उद्योग फस्टाउन सक्छन् । अहिले हामी दिल्लीबाट तरकारी ल्याएर खाइरहेका छौं, भोलि दिल्लीलाई तरकारी पठाउन सक्छौं । कैलाली र कञ्चनपुर अन्नभण्डार हुन् । पहाडको सात जिल्लालाई पालेर अन्यत्र पनि निर्यात गर्नुपर्छ । जति खर्च गरेर भए पनि कृषि मल कारखाना पनि यहीँ खोल्नुपर्छ ।’ नदी तटबन्ध, एकीकृत बस्ती, स्वास्थ्य बीमा, खानेपानी र पर्यटनको विकासमा पनि ध्यान दिने उनले बताए ।

सकभर अधिकतम सहमतिको सरकार बन्नुपर्छ

देश विकासका लागि अब धेरै समय पर्खनु नपर्ने पनि सावदले औंल्याए । उनले थपे, ‘हामीले मुलुकमा आशा र भरोसा दिन सक्नुपर्छ । विकासका लागि अब धेरै पर्खनुपर्दैन । धेरै दल मिलेका छन् । सकभर अधिकतम सहमतिको सरकार बन्नुपर्छ ।’ उनले सिँचाइ मन्त्री र शिक्षामन्त्री हुँदा आफूमाथि कसैले दाग लगाउन नसकेको पनि दाबी गरे ।

एमालेले भावी प्रधानमन्त्री घोषणा गर्दा कांग्रेसले गर्न सकेन नि भन्ने प्रश्नमा सावदले भने, ‘सुदूरपश्चिममा एउटा लोकआहान छ, पेटमा चेला छैन, हात कन्जरी । चुनाव जित्नु छैन त्यो भन्दा अगाडि मन्त्री प्रधानमन्त्रीको कुरा किन गर्ने ? केपी ओलीले रेल, पानीजहाज, घरघरमा ग्यासपाइप भन्नुभएको थियो, हामी त अझै पनि मुढा ठोसेर खाना पकाउँदै छौं त ।’

उनले गठबन्धन नटुट्ने र प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि बताए । सावदले थपे, ‘इतिहास बनाउने मान्छेले सधैं पुरानो कुरा गर्ने होइन । शेरबहादुर र प्रचण्डको सहकार्य अब टुट्दैन । अब विकास, सुशासन र स्थिरताको प्रत्याभूति हुन्छ । एकाध दुर्घटनाबाहेक सबैमा गठबन्धनले जित्छ । केन्द्रमा गठबन्धनकै सरकार बन्छ । प्रदेश सरकार पनि गठबन्धनकै बन्छ । अनुभव, भिजन र सबैलाई एकै ठाउँमा ल्याउन सक्ने नेता शेरबहादुर देउवा नै भएकाले उहाँले नै सरकारको नेतृत्व गर्ने सम्भावना हुन्छ ।’

एमालेले त सुदूरपश्चिममा शेरबहादुर देउवाले केही गर्नुभएन भनेको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा सावदले भने, ‘यहाँ पहिले सडक थिएन, बिजुली थिएन । पुल थिएन । ठूलठूला योजना थिएनन् । शेरबहादुर देउवा मन्त्री बन्नासाथ २२ वटा पुल बने । सदरमुकाम सडकले जोडिए । ओलीजीले त उद्घाटन मात्र गर्नुभो । देउवाले काम मात्र गर्नुभो । देउवा पाँचौंपटक प्रधानमन्त्री हुँदा संविधान कार्यान्वयन भयो । नेपालीले कोभिड भ्याक्सिन पाए । एमसीसी पास भयो । स्थानीय तहको चुनाव भयो । १८ महिनामा यो भन्दा बढी के काम हुन्छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot