Logo

विनय रावलको गर्जन : राजेन्द्र लिङ्देन प्रधानमन्त्री भएपछि विदेशमा लुकाएको नेताहरुको पैसा फिर्ता ल्याउँछौं, भ्रष्टाचार रोक्न ठूलाहरुलाई कारबाही गर्नुपर्छ (भिडिओसहित)



“प्रधानमन्त्री, अख्तियार प्रमुख र प्रधान्यायाधीशले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाएसरह हो भने सार्वजनिक वाचा गर्नुपर्छ”
काठमाडौं, २४ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया-२ बाट उम्मेदवार रहेका राप्रपाका युवा नेता विनय रावलले जनताले जिताएर पठाए बर्दियाको विकासको जिम्मा आफूले लिने बताएका छन् । आज (बिहीबार) राति प्राइम टिभीको चुनावी महासंग्राममा पत्रकार ऋषि धमालासँग कुरा गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।

कुराकानीको सुरुवातमै रावलले आफू जनताको सेवक भएको भन्दै नेताभन्दापनि सेवक भन्न आग्रह गरे । उनले भने,”म बर्दियाली जनताको सेवक भन्न बढि रुचाउँछु, नेता होईन । म बर्दियाको विकासको लागि परिकल्पना बोकेर हिँडेको छु । बिबिबी मेरो परिकल्पना हो, त्यो भनेको बेटर एण्ड ब्राइटर बर्दिया । विकसित र व्यवस्थित् बर्दिया मेरो मुख्य एजेण्डा हो, म त्यो पूरा गराउँछु । सम्भावना नै सम्भावना बोकेको बर्दिया आज अँध्यारो नै अँध्यारोमा छ । मेरो यो परिकल्पनाले नै बर्दिया समृद्ध बनाउँछ । जनताले विजयी गराएर पठाउनुभयो भने म त्यो परिकल्पना पूरा गरेर देखाउँछु ।”

उनले बर्दियाको विकासको लागि आफूले सुरुवातदेखि नै सक्रिय भूमिका निर्वाह गरेको सुनाए । उनले विकासको लागि साधन र स्रोत त्यति ठूलो समस्या हो जस्तो आफूलाई नलाग्ने पनि सुनाए । उनले भने,”बर्दियाको विकासको कुरा गर्दा लगानी गर्न आउने धेरै विदेशीहरु पनि छन् । देशबाट नै यी परियोजना पूरा गर्न सकिन्छ । लुटबजार मच्याएका नेताहरुको स्विस बैंकमा रहेको पैसा ल्याएर पनि विकास गर्न सक्छौं । हामीले पाएका सूचना र डेटाअनुसार नेपाली नेता, व्यापारी र ब्रोकरहरुले ४८ अर्ब रुपैयाँ स्विस बैंकमा राखेका छन ।”

उनले आफ्नो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकार बन्यो भने विदेशी बैंकमा लुकाएकार राखेको सबै पैसा स्वदेश फिर्ता गर्ने पनि घोषणा गरे । उनले भने,”मेरो नेता राजेन्द्रले भन्नुभएको छ कि भ्रष्टाचारी गर्नु भनेको आमाको रगत पिउनुसरह हो । उहाँ (राजेन्द्र) बाहेक अरुले यो बोल्ने आँट गरेका छैनन् । सबैले भ्रष्टाचार गर्न नै राजनीति नै गरिरहेको जस्तो छ । राजनीति गर्नु नै भ्रष्टाचार गर्न र यो नै उहाँहरुको धर्म हो जस्तो छ । तर, हामी भ्रष्टाचारीहरुलाई खोजी खोजी कारबाही गर्छौं ।”

उनले मुलुकमा व्याप्त भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिए । उनले मुलुक बनाउनको लागि र भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउन आफ्नो पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भनेझैं प्रधानमन्त्री, अख्तियार प्रमुख र प्रधानन्यायाधीशले पनि भ्रष्टाचार गरे आमाको रगत खानुसरह हो भनेर सार्वजनिक वाचा गर्नुपर्ने तर्क गरे ।

उनले भ्रष्टाचार रोक्न सकिने भन्दै एशियाकै सम्पन्न सिंगापुरको उदाहरण दिए । उनले सिंगापुरमा एक उच्चपदस्थ मन्त्रीका परिवार व्यापारीको प्रायोजनमा विदेश घुम्न गएको सूचना पाउँदा सरकराले ती मन्त्रीलाई जेल हालेको घट्ना स्मरण गराए । उनले भने, सिंगापुर सानो देश हो । तर, देशको नेतृत्व सम्हाल्ने व्यक्ति असल हुँदा त्यहाँ भ्रष्टाचार छैन् । आजको दिनमा सिंगापुरमा भ्रष्टाचार छँदैछैन् ।

रावलले नेपालमा पनि भ्रष्टाचार रोक्ने हो भने माथिल्लो (उच्चपदस्थ) व्यक्तिबाट नै कारबाहीको सुरुवात गर्नुपर्नेमा जोड दिए । उनले भने,”अब सानो माछा समातेर केही हुँदैन् । ठूलालाई नै कारबाही गरेर सुरुवात गर्नुपर्छ ।”

उनले आफूले बर्दियाका जनताको मत कहिल्यैपनि खेर नफाल्ने भन्दै जिताएर पठाए काम गरेर देखाउने प्रतिबद्धता जनाए । उनले भने-“म बर्दियाली जनताको भोट लिएर धोका दिन्नँ । मैले यसअघि मत पाएर धोका दिएको पनि छैन् । म त पहिलोपटक जनताको मत लिन गैरहेको छु ।”

उनले बर्दिया पर्यटनको हिसाबले पनि चितवनभन्दा केही कम नभएको सुनाए । तर, रेभिन्यूको हिसाबले बर्दिया चितवनको छेउपनि नपुगेको उनको तर्क छ । उनले बर्दिया सबै हिसाबले सम्पन्न हुनसक्ने आधार प्रस्तुत गरे । उनले मुख्य रुपमा पर्यटन र कृषिलाई मात्रै राम्ररी अघि बढाउन सकिएपनि सो क्षेत्रको विकास हुने र बर्दियाली जनताको मुहार फेरिने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्