Logo

बिना मगरले विकास गरेको भन्दा जनता मरीमरी हाँस्छन्ः तारा लामा तामाङ



काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका नेता एवं कञ्चनपुर १ का प्रतिनिधिसभा उम्मेदवार तारा लामा तामाङले बिना मगरले देखिने गरी केही पनि विकास नगरेको आरोप लगाएका छन् ।
‘कञ्चनपुर १ का बासिन्दाका लागि धेरै काम गर्नु बाँकी छ । किसानको समस्या, सीमाको समस्या, दोधारा नदीको समस्या, सुकुम्बासी, आरक्षपीडितको समस्या र लालझाडीलाई मूल सडकमा जोड्नुपर्ने चुनौती छ । अहिले पनि हामी नलकाकै पानी खाइरहेका छौं । यो क्षेत्रको सांसद र मन्त्री भएर बिना मगरले आमूल परिवर्तन गरेको भन्ने हो भने जनता मरीमरी हाँस्छन् । कागजमा विकास भयो होला । तर जनताले देख्ने गरी केही पनि विकास भएको छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लामाले भने । गठबन्धनकी उम्मेदवार मगरको लामासँग प्रतिस्पर्धा छ ।
बरु आफू सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्री हुँदा सडक र पुलका लागि बहुवर्षीय ठेक्का लगाएको पनि उनले बताए । लामाले भने, ‘बिना मगर मन्त्री भएको मैले देखेको छु । तर विकास गरेको देखेको छैन । केही काम सुरु गरिदिए पो विकास हुन्छ । समन्वय गरेर अघि बढेको भए यस क्षेत्रमा धेरै काम गर्न सकिन्थ्यो ।’
साथै उनले माधव नेपाललाई आफूले धोका नदिएको दाबी पनि गरे । नेकपा (एकीकृत समाजवादी) बाट प्रदेश मन्त्री समेत भएका लामाले भने, ‘माधव नेपालले एमालेमा रहँदा जुन जुन कुरामा असहमति राख्नुभयो, पछि आफूले त्यही बन्नुभयो । एमालेको विरोधमात्र गर्न खोज्नुभयो । अनि मैले आफ्नो कदम गलत रहेछ भनेर एमालेमै फर्किएँ । प्रचण्ड र माधव नेपालले संघ वा प्रदेशमा कहाँ लड्ने भन्नुस् भएको थियो । तर मन एमाले भएपछि म त्यहाँ बसिनँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot