Logo

काठमाडौं–९ की स्वतन्त्र उम्मेदवार मधु कार्कीको टिप्पणी : निर्वाचन आयोगले उस्तै चुनाव चिन्ह दिएर खेलबाड गर्यो, सच्याउनुपर्छ



काठमाडौं, २५ कात्तिक । काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी मधु कार्कीले उम्मेदवारहरुलाई आयोगले वितरण गरेको चिन्हलाई लिएर आक्रोश पोखेकी छिन् । उनले आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई उस्तै उस्तै खालका चिन्ह प्रदान गरेको भन्दै असन्तुष्टि पोखेकी हुन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगले आफूले पाएको टेलिभिजन चिन्हजस्तै जरोकिलो पार्टीको चुनाव चिन्ह कम्प्युटर राखिदिएर जनतालाई झुक्याउने काम गरेको टिप्पणी गरिन् । उनले भनिन्,‘निर्वाचन आयोगले मेरो चुनाव चिन्ह टेलिभिजनमा ५० वर्ष पुरानो बक्स राख्यो, नयाँ अहिले प्रयोग भइरहेको एलइडी टिभि राख्न कस्ले रोक्यो ?’

आफ्नो चुनाव चिन्हमा राजनीति भएको उनको गुनासो छ । कम्प्युटरमा किबोर्डसहित माउस र कम्प्युटर स्पष्ट देखिनेगरि राख्नुपर्नेथियो भन्ने उनको भनाई छ । आयोगको आचारसंहिताअनुसार एउटै चुनाव चिन्हको आकृति र प्रकृति भएमा अल्फावेटको आधारमा चुनाव चिन्ह रोज्न लगाउने प्रावधान रहेको पनि सुनाईन् ।

उनले आयोगको गलत कार्यले निर्वाचनपछि समृद्धिको रेखा कोर्ने वातावरण धमिल्याइदिएको धारणा राखिन् । जनतालाई झुक्याउनेगरि चिन्दै नचिन्नेगरी टेलिभिजनको चित्र राखिएको भन्दै उनले आपक्ति जनाइन् ।  कार्कीले आयोगले गलत अभ्यास गरेको भन्दै देशमा ठुलाको मनपरीतन्त्र चलिरहेको टिप्पणी गरिन् । जनतालाई सुुचित गराउने सरकारका संवैधानिक निकाय नै गलत बाटो हिँडेको उनको आरोप थियो ।

उनले राजनीतिमा राम्रो अभ्यास, जनताकेन्द्रित व्यवस्था र राजनीतिक अभ्यास नभएकै कारण व्यक्तिगत समृद्धिका लागि रमाउने युवाहरु आज राजनीतिमा आउनुपरेको जिकिर गरिन् । उनले भनिन्,‘यो अवस्था निम्त्याउनेहरुले आज लाजनीति, छाडातन्त्र, सरकारी संयन्त्रलाई नै आफ्नो मुठ्ठीमा पार्ने खालका व्यवहार गर्दा, निर्वाचनको अघि निर्वाचन आयोगको गलत अभ्यासले साँच्चै नै लाजमर्दो नजिर विश्वसामु उदाङ्गो भएको छ ।’ देशमा भएका चर्चित मिडियाले जनताको आवाजलाई स्थान नदिएकै कारण पछिल्लो समय युट्युब च्यानलहरु फस्टाएको पनि उनको टिप्पणी थियो ।

उनले चुनाव चिन्ह नक्कल गरिएको विषय निर्वाचन आयोगको मानविय त्रुटी हो भने त्यो सच्याउन पनि आग्रह गरिन् । उनले भनिन्,‘यदि छलकपट, एउटा स्वतन्त्र आवाज र स्वतन्त्र विचारलाई रोक्दै विकासलाई छेक्ने कोसिस गरेको हो भने निर्वाचन आयोगको मर्यादा, दायित्व, गरिमा, नियम र कानुन राष्ट्रिय रुपबाटै सच्याउनुपर्छ ।’

आफूले देशको समृद्धिको आधारको बारेमा अध्ययन गरिरहेको उल्लेख गर्दै कार्कीले काठमाडौं–९ लाई समृद्ध बनाउन, विकास गर्न, माटो र जनताको मर्म बुझ्नको लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारिन् ।

नेपालमा वैज्ञानिक २१औं शताब्दीको शिक्षाको नीति लागु गर्नुपर्ने उनको भनाइ थियो । उनले विश्वसँग तुलना गर्नमिल्ने किसिमको शिक्षाको नीति व्यवहारमा उतार्न बजेटको आवश्यकता पर्ने भएकोले उम्मेदवारी दिएको स्पष्ट पारिन् । देशको धर्म र संस्कृति बचाउने पनि उनको मुख्य लक्ष्य छ ।



प्रतिक्रिया दिनुहोस्