Logo

परदेशको सीप सदुपयोग हुनुपर्नेमा जोड



काठमाडौँ,२५ कार्तिक । किताब पब्लिसर्सद्वारा पोखरामा आयोजित परदेशको पसिनाः कसरी लिने प्रतिफल ? शीर्षककमा गरिएको ‘वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका’ विषयक अन्तक्र्रियामा परदेशको पसिना सदुपयोग हुनुपर्नेमा जोड दिइएको छ ।

नेपालीले परदेशमा गएर दुःख गरी कमाएको पैसाले यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगे पनि उक्त योगदानको कदर हुन नसकेको बताउँदै कार्यक्रमका वक्ताले दीर्घकालीनरुपमा यहीँ नै रोजगारीको सिर्जना गर्नुपर्ने वातारण आवश्यक रहेको बताए ।

नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा रघुराज काफ्लेले लाखौँ नेपालीले विदेशमा गएर कमाएको पैसाले मुलुकलाई जीवन दिएको बताउँदै उनीहरूको योगदानको कदर हुन नसकेको बताए ।

श्रम प्रशासनमा सुधार हुनुपर्नेमा जोड दिँदै उनले स्थानीयरुपमा नै रोजगारीको सिर्जनासँगै रोजगारीमा जानेका लागि क्षमता अभिवृद्धि, भाषा, सीप तालिम आदिमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यही नै रोजगारीको सिर्जना गर्नु पहिलो आवश्यकता भएको बताउँदै विदेश गएर प्राप्त गरेको धनसँगै, ज्ञान, सीप र क्षमतालाई यही नै उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

कतिपयले विदेशबाट फर्केर यही नै उद्यम गर्न लागेको बताउँदै उनले महानगरपालिकाले रोजगारीको अवस्था सम्बन्धमा तथ्याङ्क सङ्कलन सुरु गरेको जानकारी दिए । आप्रवासनविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा गणेश गुरुङले वैदेशिक रोजगारीमा गई आधारभूत आवश्यकता पूरा गरेकामध्ये कतिपयले यही नै उद्यम थालेको बताउँदै उनीहरूका ज्ञान, सीप र क्षमता स्वदेशमा उपयोग गर्ने वातावरण तयार गर्नुपर्ने बताए ।

आप्रवासी महिला अधिकारकर्मी मञ्जु गुरुङले आर्थिक अवस्था, घरेलु हिंसालगायतका विभिन्न परिस्थितिका कारण कतिपय महिला महिला वैदेशिक रोजगारीमा जान बाध्य छन् भने । कतिपय महिलालाई कामबाट फर्केपछि पनि यौनिकतालगायतका विषयसँग जोड्ने प्रवृत्ति पनि समस्याका रुपमा देखापरेको उनको भनाइ छ ।

पूर्वश्रमिक भीम श्रेष्ठले स्वदेशमा अवसर नपाएपछि युवा विदेशिने गरेको जनाउँदै उनीहरूलाई त्यहाँबाट फर्केपछि स्वदेशमा नै केही गर्ने वातावरण तयार हुनु जरुरी रहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot