काठमाडौं, कात्तिक २६ । ‘राजनीति र राजनीतिक दलप्रति आम जनताको आशा र भरोसा टुटेको छ। वितृष्णा जागेको छ, अविश्वास बढेको छ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ हो यो।
काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले मत माग्दै जनताको घरदैलोमा पुग्दाको अर्को तितो यथार्थ सुनाउँदै भने, ‘मतदातालाई नमस्कार गर्यो, त्यो पनि फिर्ता गर्दैनन्। अझ उम्मेदवार भन्यो भने त मुन्टो बटारेर हिँड्छन्।’
यस्तो अवस्था काठमाडौं ५ मा मात्र होइन, देशभरि नै छ। राजनीतिक दल, दलका र स्वतन्त्र उम्मेदवार विभिन्न आश्वासन र नारासहित प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारमा जुटे पनि आम जनतालाई त्यसले छोएको छैन।
आश्वासनका अनगिन्ती पोकाहरूलाई आकर्षक ढंगबाट दलहरूले आफ्ना उम्मेदवार र नेताकार्यकर्तामार्फत मात्र होइन, सञ्चारमाध्यमबाट पनि जनतामाझ पुर्याएका छन्। तर जनताले त्यसमा विश्वास गरेका छैनन्। दलहरूले निर्वाचनको मुखमा सार्वजनिक गरेका वाचा (घोषणापत्र) पूरा हुने विश्वास पनि जनताले गरेका छैनन्।
राजनीतिक दल र तिनका उम्मेदवारले जनतामा भरोसा र आशा जगाउन नसक्दा चुनाव आउन केही दिन बाँकी रहँदा पनि रौनक आउन नसकेको बुटवल स्थायी घर भई हाल ललितपुर बस्ने नारायण पौडेल बताउँछन्। उम्मेदवार, दलका नेताकार्यकर्ता, उम्मेदवारका सहयोगी तथा निकटहरू र निर्वाचन आयोगबाहेक अरूलाई चुनावले अझै नछोएको उनको भनाइ छ।
फार्मेसीमा कार्यरत पौडेलले भने, ‘उम्मेदवारलाई जितेर सांसद बन्नु छ, दलका नेताकार्यकर्तालाई आफ्ना मान्छे बनाउनु छ, निर्वाचन आयोगलाई चुनाव गराउनु छ र त्यसबापत केही कमाउनु पनि छ। अरूलाई चुनावको खास मतलब भएजस्तो अहिलेसम्म देखिँदैन।’
पाँच वर्षअघि पनि पूरा नहुने आश्वासन र सपनाहरू जनतामाझ राखेर विजयी भएका राजनीतिक दलका कतिपय नेताहरू फेरि त्यस्तै आश्वासनका पोका लिएर गाउँघर पुगेका छन्। हिजो गरेका वाचा मतदाताले मतपत्र बाकसमा खसाएसँगै दलहरूले भुलिदिएका छन्। नेताहरूले आफ्नो र दलीय स्वार्थमा मात्र समय बिताउँदा आम जनतामा राजनीति आफ्नो र मुलुकको विकासमा हुन्छ भन्ने भरोसा टुट्न पुगेको हो।
‘संविधान बनेपछि सबै अस्थिरता सकिन्छ र मुलुकको विकास हुन्छ भन्थे तर होइन रहेछ,’ गाईघाट स्थायी घर भएकी सुजाता सुवेदी भन्छिन्, ‘नेताहरूको जीवनस्तरमा त परिवर्तन आयो तर जनताको जीवनमा केही सुधार भएन।’ नेताहरूमा देश र जनताको पक्षमा काम गर्ने तत्परता नभएका कारण विकास हुन नसकेको काठमाडौंमा अध्यनरत सुवेदीको बुझाइ छ।
मुलुकमा राणा शासन हुँदा त्यसको अन्त्यपछि देशको विकास हुन्छ भनियो। पञ्चायतका बेला प्रजातन्त्र आएपछि केही हुन्छ भनियो। प्रजातन्त्र आएपछि माओवादी हिंसा अन्त्य भएपछि स्थिरता हुन्छ भन्ने आशा देखाइयो। माओवादी शान्तिप्रक्रियामा आयो। त्यसपछि संविधानसभाबाट संविधान जारी गरेपछि देश र जनताको सबै अवस्था ठीक हुन्छ भनियो। संविधान पनि लेखियो। फेरि राजनीतिक स्थिरताका लागि बहुमत चाहिन्छ भनेर दलहरूले बहुमतका लागि भन्दै भोट मागे। टोखाका ७६ वर्षीय सानुबाबु महर्जनले भने, ‘अघिल्लोपटक जनताले बहुमत दिए तर आफूआफू झगडा गरेर सके, जनता र देशलाई के गरे त?’
महर्जनजस्तो धेरैलाई राजनीतिक दल, तिनका उम्मेदवार मात्र होइन, स्वतन्त्र उम्मेदवारप्रति पनि विश्वास छैन। तर पनि मतदाता मताधिकार प्रयोग गर्ने पक्षमा देखिएका छन्। नागरिक दैनिकबाट