Logo

विद्यार्थीलाई मतदाता शिक्षा, भन्छन् : अभिभावकलाई सिकाउँछौँ



कैलाली, कात्तिक २६ । कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराखेका छन् । शुक्रबार उनी विद्यार्थीको रुपमा नभइ उम्मेदवारको रुपमा प्रस्तुत भए। विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमुना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत भएका हुन् ।

“हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ”, लक्ष्मणले भने, “निर्वाचनको मुखैमा भएको नमुना मतदानले हामीलाई निकै फाइदा गर्नेछ । कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमुना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउछन् । आउँदो निर्वाचनसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छौं । अहिले सिकेको सीप भोलि काम लाग्छ । पारसले भने, “घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमुना मतदानले दिएको छ ।”

मेरिका ढुङ्गानाले मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमुना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताउँछिन् । “अहिले निर्वाचनको समय छ । हामीले सिकेको ज्ञान आफ्ना लागिभन्दा अभिभावक र समुदायका लागि काम लाग्ने छ”, मेरिकाले भनिन्, “सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौँ । जसका कारण अहिलेको निर्वाचनमा मत बदर घटाउन सहयोग पुग्छ ।”

कक्षा १० का विनोद जोशी नमुना मतदानमा मतदान अधिकृतको भूमिकामा रहे । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई निर्वाचनको महत्वका बारेमा सक्षम बनाएको उनको भनाइ छ । “पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ”, जोशीले भने, “हामीमा आमनिर्वाचनमा मतदातालाई शिक्षा दिन सक्ने क्षमताको विकास नमुना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकलाई मतदान शिक्षा दिन सक्छौँ ।”

सो विद्यालयमा कक्षा १० को सामाजिक विषयमा भएको पाठ्यक्रमअनुसार नमुना मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमुना मतदान पूरा गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताए।

“हप्ताको शुक्रबार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत नमुना मतदान गरेका हौँ । यसले विद्यार्थीलाई निर्वाचन गर्दा पर्ने प्रक्रियाको बारेमा शिक्षा प्रदान गर्नेछ । घरमा निर्वाचनको समय भएको हुँदा अभिभावकलाई मतदान गर्न सिकाउने माध्यम पनि बन्न सक्छ”, प्रधानाध्यापक शर्मा भने, “विद्यार्थीले पनि नमुना मतदानमा निकै उत्सुकता देखाएका छन् । विद्यार्थीलाई ज्ञानभन्दा घरमा अभिभावकलाई सिकाउने प्रतिक्रिया विद्यार्थीबाट पाएका छौँ ।”

उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिइएको बताए । “सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुने भएकाले त्यसतर्फ बढी जोड दिएका छौँ”, प्रधानाध्यापक शर्माले भने, “त्यसैको एक उदाहरण हो नमुना मतदान पनि ।”



प्रतिक्रिया दिनुहोस्