Logo

हृदयराम थानीले एमाले उम्मेदवारलाई ललकारे- तपाईं गाविसकै नेतृत्व गर्नोस्, म संसदमा प्रतिनिधित्व गर्छु



काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका नेता एवं सुर्खेत २ का उम्मेदवार हृदयराम थानीले विगतमा आफूले गरेका विकास नै जित्ने आधार भएको बताएका छन् ।
‘सुर्खेत बाहिर चर्चा गरेजस्तो २०४८ साल अगाडिको अवस्था छैन । २०५६ मा मैले चुनाव जितेपछि झुप्रा खोलाको पानी ल्याएँ । २०७० निर्वाचित भएपछि भेरीबाट लिफ्ट गरेर पानी ल्याएँ । काँक्रेबिहारको मन्दिर पत्ता लगाएँ । कर्णाली प्रदेशको राजधानी सुर्खेत कायम गराउन मैले अगुवाइ गर्दा चार जना सहिद भए,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थानीले भने ।
उनले सडक, विद्युत्, खानेपानीमा आफ्नो प्राथमिकता रहेको पनि बताए । थानीले थपे, ;अब म सांसद भएपछि दुई वर्षभित्र १३२ केभी प्रसारण लाइनको विद्युत् ल्याउँछु । नेपालगन्ज-सुर्खेत सडक चार लेनको बनाउँछु । अमृत बिसीजी, तपाईं लाटी कोइली गाविस वा नगरपालिकाकै नेतृत्व गर्नुस्, म संसद्मा गएर यहाँको समस्या समाधान गर्छु ।’
नेकपा एमालेका उम्मेदवार अमृत बिसीले जनताले पटकपटक अवसर दिए पनि थानीले काम गर्न नसकेकाले आफू अगाडि आउनुपरेको बताए । उनले भने, ‘२०५४ मा म लाटीकोइली गाविसको अध्यक्ष थिएँ । सोलीघोप्टेको पानी सुर्खेत ल्याउनुपर्छ भन्ने मै हुँ । थानी दाइ मन्त्री भए पनि मलाई सहयोग गर्नुभएन । उहाँलाई जनताले पटकपटक अवसर दिएका हुन्, तर उहाँले के गर्नुभयो ? कांग्रेसले केही गर्न सकेन ।’
बिसीले सुर्खेत उपत्यका चक्रपथ बनाउने, बुलबुले पार्क बनाउने काम एमालेले गरेको पनि बताए । स्रोत र साधनमा धनी भएर पनि कर्णालीको विकास नभएको उनले औंल्याए । बिसीले भने, ‘हिमालदेखि मधेससम्म फैलिएको कर्णालीको भूगोल विकट छ । जडीबुटी, पानी आदि प्राकृतिक स्रोत र साधनले सम्पन्न प्रदेश हो । तर त्यसलाई सरकारले ध्यान नदिएकाले पछि परेको छ । विगतका जनप्रतिनिधिले काम गरेको भए सुर्खेत धेरै फड्को मारिसक्थ्यो ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot