Logo

ओली उखानटुक्का भन्दै संविधान मास्ने र राजा ल्याउने बाटोमा लागेका छन्ः एकीकृत समाजवादी नेता



काठमाडौं, २६ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का नेता एवं दैलेख १ का उम्मेदवार अमरबहादुर थापाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संविधान मास्ने र राजा ल्याउने काममा लागेको आरोप लगाएका छन् ।

‘सुखी नेपाली र समृद्ध नेपालको नारा दिएर केपी शर्मा ओलीले बहुमत पाए पनि चार वर्षसम्म एउटा झिँगो मरेन । माखो मरेन । ओलीले सत्तामा जाँदा मनमोहन अधिकारीको बाटो पछ्याउनु होला भनेका थियौं । तर संविधान मास्ने र राजा ल्याउने बाटोमा लागेकाले विद्रोह गर्नुपर्ने स्थिति आयो । अझै पनि उहाँ उखान टुक्का नै हाल्दै हुनुहुन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री समेत रहिसकेका थापाले विकास नभएको भन्ने कुरा अस्वीकार गरे । उनले भने, ‘नेपालगन्जबाट नुन बोकेर खाने यही अमरबहादुर थापा हो । अहिले एक पाइला पनि पैदल हिँडेको छैन । हाम्रा पालामा एउटा हाइस्कुल थियो, टोलटोलमा हाइस्कूल बनेका छन् । पहिले एउटा हेल्थ पोस्ट थियो, अहिले ५० शय्याको अस्पताल छ । टोलटोलमा विकास भएको छ । विकासै भएको छैन भन्ने कुरा सही होइन । जति हुनुपर्थ्र्यो, त्यति भएन भन्ने कुरा चाहिँ म पनि मान्छु ।’

राप्रपाकी उम्मेदवार कुन्ती शाहीले भ्रष्टाचारमुक्त सुशासनयुक्त दैलेख, स्वरोजगार सिर्जना, तालिम केन्द्र स्थापना, कृषिका पकेट क्षेत्र सहितकी २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरिन् । उनले भनिन्, ‘दैलेख यस्तो जिल्ला हो, जहाँ आँप र स्याउ फल्न सक्छ । समानुपातिकतर्फ दुईचोटि संविधानसभा सदस्य हुँदा मैले महिला अधिकार लेख्ने सफलता पाएँ । अब प्रत्यक्ष निर्वाचित भएर सांसदले यस्ता काम पनि गर्न सक्छन् भन्ने देखाउन चाहन्छु ।’ उनले आफूले पाँच महिना स्थानीय विकास मन्त्री हुँदा दैलेखको विकासमा धेरै काम गरेको पनि सुनाइन् ।

नेपाली कांग्रेस (बीपी) का उम्मेदवार भूपाल थापाले बीपी कोइरालाका छोरा र नातिनी राप्रपा प्रवेश गरेर जनता झुक्काएको आरोप लगाए । गठबन्धनले देशलाई निकास नदिने उनको ठोकुवा छ । उनले भने, ‘२०७४ मा हामीलाई गठबन्धनका नाममा गाईमा भोट हाल्न आदेश गरे । १९ हजार मत खसालिदियौं । अहिले कलमलाई भोट हाल भनिरहेका छन् । पहिलेको गठबन्धनले के दियो ? अहिलेको गठबन्धनले पनि केही दिँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot