Logo

कृष्णगोपाल श्रेष्ठ मेरा प्रतिस्पर्धी नै होइनन्ः कल्पना धमला



काठमाडौं, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं काठमाडौं ९ की उम्मेदवार कल्पना धमलाले गठबन्धन कसिलो भएकाले आफ्नो जितमा ढुक्क भएको बताएकी छन् ।
‘देशभरि पाँच दलीय गठबन्धनको लहर आएको छ । गठबन्धनको नेतृत्व कांग्रेसले गरेको छ । काठमाडौं ९ मा सारा कांग्रेस जोडिएको छ । गठबन्धन कसिलो र सशक्त छ । विपक्षीले कांग्रेसले काठमाडौंमा माओवादीलाई मत नदिने हल्ला चलाएका छन् । कांग्रेसले काठमाडौंमा माओवादीलाई प्रश्न गरिरहँदा अन्यत्र माओवादीले कांग्रेसलाई गर्न सक्छ । देशको राजधानीमा सचेत नागरिक बस्छन् । प्रतिगमनलाई परास्त गर्न, संविधानको रक्षा अनि विकास र समृद्धिका लागि गठबन्धनलाई मतदान गर्छन् म विश्वस्त छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै धमलाले भनिन् ।
काठमाडौं ९ का जनताको आधारभूत समस्या समाधान गर्न सक्षम हुने पनि उनले बताइन् । धमलाले भनिन्, ‘अन्यत्र जस्तै यहाँ आधारभूत सडक, खानेपानी, रोजगारी लगायतका समस्या छन् । भाषा, संस्कृति, पर्यटनका कुरा छन् । । समस्या समाधान गर्न सक्छु । मसँग इमानदारी र इच्छाशक्ति छ । म यहाँको समग्र विकास गर्न सक्छु । म कुनै शासक होइन, जनताको साथी बन्न चाहन्छु ।’
एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ आफ्नो प्रतिस्पर्धी नै नभएको पनि उनले दाबी गरिन् । धमलाले थपिन्, ‘जनताले जहिल्यै परिवर्तन खोज्छन् । त्यसैले नै संसारमा नयाँ नयाँ कुराको आविष्कार हुन सकेको हो । यसअघिका यहाँ प्रतिनिधि भएर ढाँट्नुभएको छ, छल्नुभएको छ । आठौं पटक निर्वाचन लड्दाका धोकाधडीबारे जनता सचेत छन् । काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ मेरा कुनै प्रतिस्पर्धी होइनन् ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot