Logo

एक वर्षभित्र हुम्लामा बाटो पुग्छ, पाँच वर्षभित्र कर्णालीको विकास गर्न सक्छुः जीवनबहादुर शाही



काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला एक वर्षभित्रै सुर्खेत र राजधानीसँग सडकमार्गले जोडिने बताएका छन् ।
‘हुम्लाको उत्तरी र दक्षिणी भूभागमा अहिले पनि गाडी गुडिरहेका छन् । तर पूर्वी क्षेत्र सुर्खेत र राजधानीको मुख्य सडकसँग जोडिएको छैन । बाँकी १२ किलोमिटर बाटोमध्ये चार किलोमिटर नेपाली सेनाले बनाइसक्यो । अब आठ किलोमिटर बाटो बाँकी छ । सल्ली सल्लामा चट्टानै चट्टान छ । विष्फोटन गर्न गाह्रो छ । तैपनि सडक विभागले एक वर्षभित्रै गर्छु भनेको छ । हामी अब सुर्खेत र राजधानीसँग जोडिन्छौं । तराईमा एक किमि बाटो बनाउन १० लाखले पुग्छ । यहाँ एक किमिकै ४-५ करोड लाग्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शाहीले भने । उनले अरुलाई हेर्दा हुम्ला पछि परेको भए पनि पहिलेजस्तो दयालाग्दो अवस्था नरहेको उनले दाबी गरे ।
आफू मुख्यमन्त्री भएको एक वर्षमा सुशासन कायम भएको र अर्को पाँच वर्षभित्र कर्णालीको जनतालाई परिवर्तनको आभास दिलाउने पनि शाहीले बताए । उनले थपे, ‘मेरो एक वर्षे कार्यकालमा सुशासन कायम भएको छ । नेतृत्वका कारण कर्णालीमा विकास र समृद्धि अघि बढेको गठबन्धनका नेताहरुले महसुस गर्नुभएको छ । प्रचण्ड र पूर्णबहादुर खड्का सर्केगाड (हुम्ला) आएर सबैभन्दा बढी बजेट राख्ने कुरा गर्नुभएको छ । अब हामी देश बनाउन मेरिमेटेर लाग्ने छौं । म पाँच वर्षमा कर्णालीलाई परिवर्तन गर्न सक्छु ।’

हुम्ला (ख) का प्रदेशसभा उम्मेदवार समेत रहेका शाहीले हुम्लामा मात्र नभएर सिंगो कर्णालीमै गठबन्धन बलियो रहेको पनि औंल्याए । उनले भने, ‘यहाँ एमाले बलियो हुने कुरै भएन । नेपाली कांग्रेस र माओवादी केन्द्र नै ठूला दल हुन् । अहिले एकीकृत समाजवादी पनि जोडिएको छ । हाम्रो पूर्ण बहुमत आउँछ अनि कर्णालीको द्रुततर विकासमा गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot