Logo

कर्णालीमा विकास गर्ने होइन, विकास खाने नेताहरू बढी भएः यामलाल कँडेल



काठमाडौं, २७ कात्तिक । नेकपा एमालेका नेता एवं सुर्खेत २ (क) का उम्मेदवार यामलाल कँडेलले कुनै पदलाई केन्द्रभागमा राखेर आफूले प्रतिस्पर्धा नगरेको बताएका छन् । ‘संविधानलाई चिरस्थायी बनाउने हो भने प्रदेशलाई बलियो बनाउनैपर्छ । कर्णाली प्रदेशलाई बलियो बनाउन तुलनात्मक रुपमा मेरो भूमिका हुन सक्छ । के नपाएर पटकपटक प्रदेशमा उठेको छ वा केका लागि उठेको छ भन्ने प्रश्न उठ्न सक्छन् । तर मैले पदलाई केन्द्रभागमा राखेको छैन । जिम्मेवारी आएछ भने म पछि हट्ने पनि छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कँडेलले भने ।

कर्णालीमा थुप्रै नेताहरु भए पनि उनीहरुले विकास गर्न नसकेको आरोप पनि कँडेलले लगाए । उनले भने, ‘अहिले नेताहरुले कर्णालीमा यो गर्छौं, त्यो गर्छौं भनिरहेका छन् । ती नेताहरुले पाँच वर्षमा संसद् भित्र र बाहिर के कति कुरा उठाए ? साथीहरुले पद सुरक्षित गरे होलान् । तर पद अनुसारको भूमिका खेलेनन् । भक्तजन मात्र भएर कर्णालीको विकास हुन सक्दैन ।’

कर्णालीमा विकास गर्ने होइन, विकास खाने नेताहरु भएको उनको टिप्पणी छ । कँडेलले थपे, ‘यहाँका नेताहरुले सत्तामा पुगे पनि आफ्नो योग्यता देखाउन सकेनन् । चाउचाउ र उसिनेको चामल नबाँडेको भए यहाँ स्वावलम्बन आइसक्थ्यो । अनुदान नीतिले कर्णालीलाई परजीवी बनाएको छ । यहाँ विकास गर्ने होइन विकास खाने हिसाबले बजेट र योजना बाँडिएको छ ।’

गठबन्धनले जीवनबहादुर शाहीलाई घोषणा गरिसक्यो, तर तपाईंको पार्टीले संस्थागत निर्णय गरेको छैन नि भन्ने पत्रकार धमलाको प्रश्नमा कँडेलले भने, ‘यहाँ मत बढी पाइन्छ भनेर कसैकसैले आफूलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । यहाँ कसैलाई मुख्यमन्त्री तोकेको स्थिति छैन । हाम्रो पार्टीले मुख्यमन्त्री छानिसकेको छैन । विभिन्न मानिसले अनुमान र अपेक्षा गर्न सक्छन् ।’

आफूलाई गठबन्धनको कुनै डर नभएको पनि कँडेलले दाबी गरे । उनले भने, ‘यो नेताहरुको गठबन्धन हो, जनताको होइन । नेताहरु मात्र मिलेर केही हुँदो रहेनछ भन्ने कुरा मंसिर ४ मा थाहा पाउँछन् । यिनीहरुले निर्वाचन आयोगमा अब गठबन्धन पार्टी नै दर्ता गरे पनि एमालेलाई हराउन सक्दैनन् ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot