Logo

७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र



काठमाडौं, कात्तिक २८ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ ।

यसअघि आयोगले प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि स्थायी मतदान स्थल १० हजार ८ सय ९२ र मतदान केन्द्र २२ हजार २ सय २७ निर्धारण गरिसकेको छ ।

आयोगले अन्तिम अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदीबन्दीलगायतका व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न दिने व्यवस्थासहित अस्थायी मतदान केन्द्र तोकेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि ७७ जिल्लामा १ सय ४१ वटा अस्थायी मतदान केन्द्र स्वीकृत गरेको जानकारी दिए ।

आयोगले २०७२ सालमा जारी भएको नेपालको संविधानपछि अस्थायी मतदाताले मतदान गर्ने व्यवस्था पहिलोपटक कार्यान्वयन गर्न लागेको हो । आयोगले अस्थायी मतदाताको नामावली संकलन गर्न विभिन्न कार्यालयलाई पत्राचार गरेको थियो ।

आयोगका सहायक प्रवक्ता ऋषिराम भुषालले अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्रै मतदान गर्न पाउने जानकारी दिए । उनका अनुसार मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई खटिएकै केन्द्रबाट मतदान गर्नेगरी आयोगले व्यवस्था मिलाएको छ । तर, अस्थायी मतदाता हुन अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकै हुनुपर्छ ।

निर्वाचनका लागि कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० कायम भएको आयोगले बताउँदै आएको छ । अस्थायी मतदाता भने करिब १ लाख ४८ हजार हुने आयोगको अनुमान छ । आयोगले अस्थायी मतदाताको अन्तिम नामावली सार्वजनिक गरिसकेको छैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्