काठमाडौं, कात्तिक २८ । सोलुखुम्बुमा ३० वर्षदेखि नेपाली कांग्रेसबाट लगातार चुनाव लड्दै आएका बलबहादुर केसी र एमालेका केन्द्रीय सदस्य मनवीर राईबीच प्रतिस्पर्धा हुँदैछ। सोलुबाट सातपटक उम्मेदवार भएका केसी चारपटक निर्वाचित भैसकेका छन्। उनी पाँचौंपटक प्रतिनिधिसभा सदस्य बन्ने तरखरमा छन्।
एमालेका राई पनि सोलुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर इतिहास रच्ने अभियानमा छन्। नेपाली कांग्रेसका प्रभावशाली नेता केसीले माओवादीसहितको गठबन्धनले साथ दिँदा पनि सुरक्षित महसुस गरेका छैनन। लामो समयदेखि कांग्रेसबाट एउटै व्यक्ति दोहोरिनु र कांग्रेसकै अर्का नेता आङगेलु शेर्पाको टिकट खोसेर केसी उम्मेदवार भएकाले पार्टीभित्र असन्तुष्टि देखिएको छ।
जिल्ला कार्य समितिले शेर्पालाई प्रत्यक्ष र केसीलाई समानुपातिकतर्फ उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरे पनि केन्द्रले केसीलाई प्रत्यक्षमा टिकट दिएपछि सोलु कांग्रेसमा असन्तुष्टि बढेको हो। केसी कांग्रेसका असन्तुष्टहरूको मत गठबन्धन दलमध्येको माओवादीबाट पूर्ति गर्ने मनस्थितिमा छन्। तर माओवादीभित्र पनि असन्तुष्टि रहेकाले त्यसको फाइदा एमालेले उठाउन सक्ने अवस्था देखिएको छ।
स्थानीय तहको निर्वाचनले सोलुखुम्बुबाट केसीलाई असहज देखाएको छैन। तर कांग्रेस र माओवादीकै मत विभाजित भएमा एमालेले पहिलोपटक सोलुखुम्बुबाट संसद्मा प्रवेश पाउनेछ। २०७४ सालको निर्वाचनमा हराएको माओवादीले नै अहिले केसीलाई समर्थन गर्दा उनको जितमा सहज देखिन्छ तर अहिलेसम्म चुनाव प्रचारप्रसारमा असन्तुष्टहरू नलाग्दा आशंका उब्जिएको छ। नागरिक दैनिकबाट