Logo

विरासत जोगाउन र भत्काउन होड



काठमाडौं, कात्तिक २८ । गण्डकी प्रदेशका ११ जिल्लामा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। त्यहाँबाट कांग्रेस नेता रामचन्द्र पौडेलदेखि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालासहितका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्।

२०७९ वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत र २०७४ को आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा त्यस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, माओवादी, राजपा र एमाले, राप्रपा संघीय समाजवादी फोरमले पाएको समानुपातिक मतलाई लिँदा विपक्षी गठबन्धन सात र सत्ता गठबन्धन ११ क्षेत्रमा अगाडि छन्।

तीमध्ये पर्वत र बागलुङ १ मा सत्ता गठबन्धन झिनो मतले मात्र अघि छन्। अन्य क्षेत्रमा भने दुवै गठबन्धनले पाएको मतान्तर केही हजारमा छ। पर्वतमा सत्ता गठबन्धनबाट कांग्रेसका अर्जुनप्रसाद जोशी उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट एमालेका पदम गिरी प्रतिस्पर्धामा छन्। बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन्। केसीसँग एमालेका सूर्यप्रसाद पाठक भड्किँदैछन्।

उक्त मतमा सत्ता गठबन्धनको साझेदार राष्ट्रिय जनमोर्चाले पाएको मतलाई समावेश गरिएको छैन भने सत्ता गठबन्धनमा राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने त्यस प्रदेशबाट १५ क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। उसले मुस्ताङ, मनाङ र बागलुङ २ मा उम्मेदवारी दिएको छैन। त्यसलाई समेत आधार बनाउने हो भने विपक्षी गठबन्धन थप कमजोर देखिन्छ। एमाले नेतृत्वको सत्ता गठबन्धन अघि रहेका क्षेत्रमा कास्कीका तीन क्षेत्र, नवलपरासी पूर्व १, मुस्ताङ, लम्जुङ र स्याङ्जा १ छन्।

कास्की १ मा एमालेबाट मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ बाट विद्या भट्टराई र क्षेत्र नम्बर ३ मा दामोदर पौडेल उम्मेदवार छन् भने सत्ता गठबन्धनमा कांग्रेसका किशोरदत्त बराल, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट श्रीनाथ बराल र माओवादीबाट रामजीप्रसाद बराल क्रमशः प्रतिस्पर्धामा छन्। कास्की २ मा पनि श्रीनाथविरुद्ध कांग्रेसका महादेव गुरुङले विद्रोही उम्मेदवारी दिएका छन्। त्यसले एकीकृत समाजवादीका उम्मेदवारमाथि चुनौती बढाइदिएको छ। बाँकी ११ क्षेत्रमा सत्ता गठबन्धनको मत अघि छ।

उक्त निर्वाचनमा एमालेले १२ निर्वाचन क्षेत्रमा पहिलो मत पाएको देखिन्छ भने बाँकीमा कांग्रेस अघि छ। कांग्रेसले गोरखा १, नवलपरासी १, मनाङ, स्याङ्जा २ मा समानुपातिकतर्फ बढी मत पाएका छन्। समानुपातिकतर्फको निर्वाचनमा दलहरूले पाएको मतलाई आधार बनाउँदा कांग्रेस अघि रहेको गोरखा १ बाट सत्ता गठबन्धनबाट राजेन्द्र बजगाईं उम्मेदवार छन्। बजगाईंसँग एमालेका रामशरण बस्नेत प्रतिस्पर्धा गर्दैछन्।

नवलपरासी बर्दघाट सुस्ता पूर्व १ मा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला उम्मेदवार छन्। निरन्तर त्यस क्षेत्रबाट तीनपटक जित निकालेका कोइरालासँग एमालेका कृष्णप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छोपाङ गुरुङबीच प्रतिस्पर्धा हुँदैछ। स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेत्री पद्मा अर्याल चुनावी मैदानमा छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot