Logo

कोइराला परिवारबाट पाँचौं प्रधानमन्त्री हुन्छु, पन्ध्रौं महाधिवेशनबाट कांग्रेसको सभापति बन्छुः डा. शशांक कोइराला



काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं नवलपुर १ का उम्मेदवार डा. शशांक कोइरालाले मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्ने ठोकुवा गरेका छन् ।
‘पाँच दलीय गठबन्धन सिमेन्टड छ । त्यसलाई कुनै पनि हालतमा केपी ओलीले तोडफोड गर्न सक्नुहुन्न । मंसिर ४ पछि पनि गठबन्धनकै सरकार बन्छ । जनताले रोजेपछि ओलीले नदिने कुरा आउँदैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. कोइरालाले भने ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब प्रधानमन्त्री दिए पनि ओलीको पछि नलाग्ने दाबी गरे । उनले भने, ‘ओलीले प्रधानमन्त्री दिन्छ भनेर अब पनि विश्वास गर्नुहुन्छ भने त मलाई केही भन्नु छैन । अब प्रचण्डजीलाई कांग्रेस मिल्नुको विकल्प छैन ।’

‘तत्काल प्रचण्डको सम्भावना छैन, अब पनि शेरबहादुरजी नै प्रधानमन्त्री’
नेता डा. कोइरालाले आगामी गठबन्धन सरकारको नेतृत्व पनि शेरबहादुर देउवाले नै गर्ने बताए । उनले भने, ‘गठबन्धनको नेता शेरबहादुरजी नै हो । पार्टी सभापति पनि उहाँ नै हो । फेरि पनि उहाँ नै प्रधानमन्त्री बन्ने सम्भावना छ । म पनि प्रधानमन्त्रीको प्रत्यासी हुँ । तर म तत्काल प्रधानमन्त्रीको दाबी गर्दिनँ । पछि मेरो दाबी रहन्छ । हेरौं, परिस्थिति के आउँछ । अहिले मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो ।’

तत्काल प्रधानमन्त्रीमा प्रचण्डको सम्भावना नभएको पनि उनको जिकिर छ । डा. कोइरालाले भने, ‘तत्काल प्रधानमन्त्रीमा प्रचण्डको सम्भावना छ जस्तो मलाई लाग्दैन । आलोपालो मलाई थाहा छैन । शेरबहादुरजीलाई नै सोध्नुस् । उहाँ पटकपटक प्रधानमन्त्री भइसक्नुभएको छ । शेरबहादुरले नै प्रचण्डलाई दिनुभयो भने पनि मेरो विरोध रहँदैन ।’
कोइराला परिवारबाट आफू पाँचौं प्रधानमन्त्री हुने दाबी पनि उनले गरे । डा. कोइरालाले थपे, ‘कोइराला परिवारबाट पाँचौं प्रधानमन्त्री मै हुन्छु । मैले कति काम गर्न सक्छु वा सक्दिनँ, त्यतिबेला हेर्नुस् । त्यसका लागि शेरबहादुरजीको समर्थन त लिनै पर्यो । शेरबहादुरजी बीपी कोइरालाले एकदमै मन पराएको सुदूरपश्चिमको एक्लो नेता हो । म पनि शेरबहादुरजीलाई मन पराउँछु । उहाँ बेलायतमा पढिरहेका बेला मैले नै नेपाल बोलाएको हुँ । तर उहाँले गिरिजाबाबुसँग डिफरेन्सिस भएर अलग पार्टी बनाउनु हुँदैनथ्यो ।’
‘शेरबहादुरजीले पार्टी नेतृत्व दिन्छु भन्नुभएको छ’
कांग्रेसको पन्ध्रौं महाधिवेशनमा शेरबहादुर देउवाले आफूलाई सभापति बनाउने पनि उनले ठोकुवा गरे । उनले भने, ‘चौधौं महाधिवेशनमा म स्वतन्त्र लडें । सबभन्दा बढी मत ल्याएँ । मलाई दुवै गुटले नाम राखेका थिए । चौधौं महाधिवेशनमा शेरबहादुरजीले म तपाईलाई नै पार्टी ह्यान्डओभर गर्छु, रेडी बन्नोस् भन्नुभयो । त्यही कारण मैले उहाँलाई समर्थन गरेर सभापतिमा उम्मेदवारी नदिएको हुँ । पन्ध्रौं महाधिवेशनमा उहाँ लड्न पाउनुहुन्न । हुन त अरुलाई पनि त्यसै भन्नुभएको होला ।’ उनले शेखर कोइरालाका कारण आफू पार्टी सभापति या प्रधानमन्त्रीबाट ब्याक नहुने पनि औंल्याए ।

‘टिकट पाउने सबै मेरा मान्छे’
तपाईंले आफ्ना नजिकका नेतालाई त टिकट दिलाउन सक्नुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता डा. कोइरालाले कांग्रेसबाट टिकट पाउने ९१ जना नै आफ्ना मान्छे भएको बताए । उनले भने, ‘कांग्रेसबाट जजसले टिकट पाए, ती सबै कांग्रेसका मान्छे हुन्, मेरै मान्छे हुन् ।’ उनले ९१ सिटमध्ये ८० सिट कांग्रेसले जित्ने दाबी पनि गरे । उनले कांग्रेसको भविष्य गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डेहरु नै भएको बताए ।
‘शेरबहादुरजीले नवलपुर पठाउनुभयो’
आफूले नवलपुर १ का जनताको भरोसा पाएको र सकेको विकास पाएको पनि बताए । उनले भने, ‘२०६४ मा म पूर्व जान चाहन्थें । शेरबहादुरजीले नवलपुर जानुस् भन्नुभयो । सूर्यभक्त अधिकारीबाहेक कोही चिन्दैनथे । जनताले अचम्मै माया गरे । दुई कार्यकाल संविधान बनाउनै गयो । पाँच वर्ष मात्र विकासको काम गर्न पाइयो । मैले विकासका लागि अधिकतम प्रयत्न गरेको छु । जति विकास गर्नुपथ्यो, त्यति भएन । अब नवलपुरमा ट्रमा सेन्टर बनाउने, बीपी कोइरालाको नाममा अन्तर्राष्ट्रिय रंगशाला बनाउने, देवघाटदेखि त्रिवेणीसम्म वैकल्पिक राजमार्गमा सोचेको छु । अब मेरो प्राथमिकता विकास, विकास, विकास हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot