काठमाडौं, २८ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लुटेराको संज्ञा दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले सरकारले नै फ्रि–भिषा, फ्रि–टिकटमा युवाहरुलाई विदेश पठाएको कुरा सत्य रहेको बताए ।
अन्तर्वार्ताको क्रममा धमलाले फ्रि–भिषा, फ्रि–टिकटको लोभ देखाएर भोट माग्नुभयो होईन ? भनेर सोधेको प्रश्नमा नेपालले उक्त आरोपको खण्डन गरे । सो क्रममा उनले श्रममन्त्री शेरबहादुर कुँवरलाई फोन गरेर पनि फ्रि–भिसा र फ्रि–टिकटमा युवाहरु विदेश गएका छन् कि छैनन् ? भनेर सोधे ।
जवाफमा मन्त्री कुँवरले गएको भन्दै पछिल्लो डाटा नै सुनाएका थिए । उनले एमालेमा रहँदा बिगार्ने भूमिकामात्रै ओलीले खेलेको आरोप लगाए । उनले ओलीलाई निरंकुश शासक र व्यक्तिवादको नमूनाको पनि संज्ञा दिए । उनले केपी ओलीका आसेपासेले मात्रै उनलाई बा भन्ने गरेको सुनाए ।