पर्सा, २८ कात्तिक । पर्सा क्षेत्र नं.३ मा नेकपा एमाले र जसपा नेपालका साझा उम्मेदवार राजकुमार गुप्ताको छलछामका कारण चुनावी तालमेल संकटमा परेको छ ।
राजकुमार गुप्ता दुवै दलको साझा उम्मेदवार भए पनि चुनावी सहयात्रामा रहेकै दलका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् । उनले जसपाका पोखरिया नगर अध्यक्ष गोवर्धन यादवसहितलाई पार्टी प्रवेश गराएका हुन् । राजकुमारले आफ्नो फेसबुक पेजामा यादवसहितका सयौंजना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पोस्ट राखेका छन् ।
चुनाव नजिकिँदै जाँदा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीको ग्राफ उकालो लाग्न थालेपछि अत्तालिएका राजकुमारले चुनावमा आफैंलाई सहयोग गरिरहेको दलका नेता कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउनुलाई तालमेलप्रति गद्दारीको रुपमा जसपाका नेता कार्यकर्ताले लिएका छन् ।
राजकुमारको यो हर्कतलाई जसपा नेता र कार्यकर्ताले जसपाको अपमान भनेका छन् । यी दुई दलबीत चुनावी तालमेलको निर्णय भएदेखि नै जसपालाई अपमान गर्ने शैलीमा प्रस्तुत भएका राजकुमार गुप्ताले प्रदेशसभामा विपक्षी दलका उम्मेदवारलाई सघाउने शर्तमा आफ्नो जीत बलियो बनाउन तालमेललाई धोका दिने गोप्य समझदारी गरेको समाचार आएको थियो ।
जसरी पनि जीत हात पार्ने एकल ध्याउन्नमा रहेका गुप्ता आफ्नो पक्ष बलियो पार्न तालमेलप्रति धोकाधडी र जस्तोसुकै अनैतिक सम्झौता गर्न पनि तयार देखिएको एमाले पर्साका एक प्रभावशाली नेताले बताए ।