Logo

उट्पट्याङ बोलेर झर्ला र खाउँला भन्ने बाहेक अरु ओलीको नियतिमा छैनः झलनाथ खनाल



काठमाडौं, २९ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं इलाम १ का उम्मेदवार झलनाथ खनालले इलामका जनताले आफूलाई फेरि पनि जिताउने बताएका छन् ।
‘विकासका दृष्टिले इलाम १६५ क्षेत्रमध्ये सबभन्दा एकदमै अगाडि छ । हामीले यहाँ अर्बौंको बजेट ल्याएर बहुआयामिक विकास गरेका छौं । प्रत्येक पालिकामा करोडौंका खानेपानी योजना छन् । सडक र विद्युतीकरण भएको छ । इलामे जनताले मलाई पटक पटक जिताए । फेरि पनि जिताउँछन् । मसँग जनता सन्तुष्ट छन् । जनता गठबन्धनलाई जिताएर संविधान र गणतन्त्र बचाउन अनि विकास र समृद्धिलाई अघि बढाउन तम्तयार छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने ।
समृद्ध इलाम बनाउने सपना आफूले साँचेको पनि उनले बताए । खनालले थपे, ‘समृद्ध इलाम मेरो सपना हो । भौतिक पूर्वाधारमा अझै काम गर्न बाँकी छ । कैयौं खोलामा पुल्न हाल्न बाँकी छ । अब पर्यटनको समुन्नति, कृषिउपजको बजार, चियाको अन्तर्राष्ट्रियकरणका निम्ति म पहल गर्छु ।’
आफू अन्तिम पटक उम्मेदवार बनेको पनि खनालले बताए । उनले भने, ‘यो मेरो अन्तिम निर्वाचन हो । म परिवर्तनको शृंखलालाई दिगो र सुरक्षित बनाएर समाजवादतर्फ अघि बढ्नका लागि उमेर र विचारका दृष्टिले नयाँ युवालाई स्वागत गर्ने पक्षमा छु ।’
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई हराएर वा फुटाएर सत्तामा जाने सोच्नु दिवास्वप्न भएको पनि उनले बताए । खनालले भने, ‘गठबन्धनले जनताको मन करिब करिब जितिसक्यो । अब मंसिर ४ मा बाकसमा मत हालेर जिताउन मात्र बाँकी हो । अनेक उट्पट्याङ बोलेर झर्ला र खाउँला भन्ने बाहेक अरु ओलीको नियतिमा छैन ।’
साथै उनले गठबन्धनमा प्रधानमन्त्रीको एजेन्डाबारे छलफल नभएको पनि बताए । खनालले थपे, ‘हामी एकआपसमा बस्छौं र छलफल गछौ । नयाँ प्रधानमन्त्री चुनेर सरकार गठन गर्छौं । कुनै कुराले बाधा गर्लाजस्तो मलाई लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot