Logo

प्रभु साहको दाबी – मधेसमा एमाले र जसपा शून्य सिटमा झर्छन्



काठमाडौं, २९ कात्तिक । पूर्वमन्त्री एवं रौतहट ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले केपी शर्मा ओलीले जनता समाजवादी पार्टीसँग तालमेल गरेर देश र मधेसलाई धोका दिएकाले स्वतन्त्र उम्मेदवारहरुले अधिकांश सिट जित्ने दाबी गरेका छन् ।
‘मधेसी दलका नाममा जनताले पटक पटक धोका पाएका छन् । यसपटक सच्चाउने अवसर थियो । तर केपी ओलीले जनता समाजवादी पार्टीसँग तालमेल गरेर देश र मधेसलाई फेरि धोका दिए । अनैतिक राजनीति गरे ।भारतलाई नाकाबन्दी गर्न लगाउने मतियार अनि आगो बालेर मधेस उजाड बनाउने उपेन्द्र यादवलाई काँधमा बोक्ने ओली ढोंगी हुन् कि अपराधी हुन् ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग साहले प्रश्न गरे ।
दलहरुप्रतिको वितृष्णाले मधेसमा स्वतन्त्र उम्मेदवारहरुको पक्षमा लहर आइरहेको पनि साहको दाबी छ । उनले थपे, ‘जसपासँग नमिलेको भए एमाले ठूलो दल हुन्थ्यो । तर मिलेपछि त्यो सम्भावना सकियो । मधेसी एक्काइसौं शताब्दीका सचेत जनता हुन् । उपेन्द्र यादव र ओली कसरी मिल्ने ? राजावाद र माक्र्सवाद कसरी मिल्ने ? यस्तो अनैतिक र अपवित्र तालमेलका कारण दलहरुप्रति देशभरि नै वितृष्णा छ । दलहरुले भन्दा स्वतन्त्र उम्मेदवारहरुले बढी जित्छन् । मधेसमा सूर्य र छाता छाप जसपा र एमालेले जित्दैनन् । एमालेले समानुपातिकमा मात्र आशा गरे हुन्छ ।’
मधेस ओलीको बन्धकी नभएको पनि उनले बताए । साहले भने, ‘अहिले रौतहटमा सूर्यबाट लड्नु गल्ती हो भनेर उम्मेदवारहरु रोइरहेका छन् । मधेसमा अब कुनै क्षेत्र सूर्यले जित्दैन । केपीको कुकर्मले सूर्य डुबिरहेको छ । मधेस ओलीको बन्धकी होइन पेवा होइन । उनले कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गरेका छन् । ओलीजी कुकुर्म देशका लागि बोझ भैसक्यो ।’ उनले ओलीले झापामा पनि नजित्ने ठोकुवा गरे ।
प्रभु साह माओवादी केन्द्रको उम्मेदवार हो कि गठबन्धनको भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘अब जनतालाई ढाँट्ने कुरा छैन । कांग्रेसले रुखमै भोट मागिरहेको छ, एकीकृत समाजवादीका उम्मेदवारले कलममै मागिरहेका छन् । माओवादी केन्द्रकाले हँसिया हथौडामै भोट मागिरहेका छन् । कांग्रेस पार्टी शेरबहादुर देउवाको नियन्त्रणमै छैन । अब ढाँट्ने काम बन्द गरौं । फिल्डमा यस्तो छ जस्तो लाग्दैन ?’
एमाले गठबन्धन फेल भएपछि त्यसको लाभ अर्को पक्षले लिने बताउँदै उनले मंसिर ४ पछि राजनीतिले नयाँ कोर्स लिने दाबी पनि गरे । साहले भने, ‘निर्वाचनपछि राजनीतिले नयाँ दिशा लिन्छ । प्रचण्डसँग मेरो राम्रो सम्बन्ध छ । उहाँ केपी ओलीभन्दा उत्तम पनि हो । तर माओवादीमा जाने भए त म हँसिया हथौडा चिह्नमै लडिहाल्थें नि ।’ ओलीको प्रस्तावमा प्रचण्ड नै प्रधानमन्त्री हुुने दाबी पनि उनले गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot