काठमाडौँ,२९ कार्तिक । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन् । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षि नेकपा एमाले का उच्चस्तरका नेता बीच मुख्य प्रतिस्पर्धाहुने देखिएको छ ।
अर्घाखाँचीमा वामलोकतान्त्रि पक्षबाट नेपाली कांग्रेस केन्द्रीय सदस्यतथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि ११ जना सङ्घमा उम्मेदवार भए पनि मुख्य प्रतिस्प्रर्धा भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका केन्द्रीय सचिव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीबीच हुने भएको छ । संयोग भन्नुपर्छ दुबै जना उम्मेदवार सन्धिखर्क ९ अर्घाका नै छन् ।
विसं २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लगायतका गठबन्धन दलका तर्फबाट निर्वाचित रायमाझी अहिले एमालेको एकल उम्मेदवारको रुपमा उम्मेदवार छन् । आर्थिक समृद्धि र मुलुकको विकासका लागि आफ्नो जीत हुने नेता रायमाझीको भनाइ छ ।
विसं २०६४ देखि निरन्तर निर्वाचित भएका रायमाझी २०७४ को वामगठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर निर्वाचित हुनुभएको थियो । तर अहिलेको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतका दलको समर्थनबाट लोकतान्त्रिक वामगठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पुष्पा भुसालको उम्मेदवार बनेका छन् ।
जिल्लाको विकासका लागि आफ्नो जीत हुने नेता पुष्पा भुसालको भनाइ छ । उनले जिल्लामा विकासको नाममा आएको बजेटको परिक्षण अर्घाखाँचीबासीले गर्नुपर्ने बताए । सङ्घीयतापछिको २०७४ को चुनावमा भुषाल समानुपातिक सूचीबाट संसद बनेर उपसभामुख बनेको हो ।
प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारुलगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा ९१० मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य, गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका सागर केसी, नेकपा एकीकृत समाजवादीबाट रामबहादुर चौहान, राप्रपाबाट झविन्द्र फुल्लेल र स्वतन्त्रबाट राजन नेपाली लगायत सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा ९२० का लागि नेपाली कांग्रेसबाट पार्टीका पूर्वसभापति कमलप्रसाद भुसाल र एमालेबाट पूर्व प्रदेश सांसद रामजीप्रसाद घिमिरे, राप्रपाबाट चेतबहादुर पौड्याल र स्वतन्त्रबाट बाबुराम रोका मगर र चिरञ्जीबी अर्याल लगायत सातजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तीव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ । लगातार तिन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा छन् । भुसाललाई भने गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दवाव छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब पाँच हजार पाँच सय मतले अगाडि देखिन्छ । रासस