काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न साथै नेपालको राष्ट्रिय राजनीतिलाई स्थायित्व दिन यसपटक काङ्ग्रेससहितको गठबन्धनले जित्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार चुनावी घरदैलोका क्रममा नेता सिंहले देशको संविधान काँग्रेसको नेतृत्वमा आएको भए पनि अघिल्लो निर्वाचनमा काङ्ग्रेसले म्यान्डेट नपाउनु दुर्भाग्य रहेको बताए ।
प्रतिपक्षको गलत कदमले संविधान असफल बनाउँदै, नेपाललाई पुन अस्थिरता तर्फ लैजान लागेको समयमा काङ्ग्रेसले देशको नेतृत्व लिएर संविधानको संरक्षण गरेको उनको भनाइ छ । संविधान काङ्ग्रेसको नेतृत्वमा आएकोले यसलाई संस्थागत गर्न र स्थायित्व पनि काङ्ग्रेसले नै दिन सक्ने उनले जिकिर गरे ।
उनले देशको समग्र विकाशको लागि संविधानले प्रधान गरेको सङ्घीयतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताए । सङ्घीयताले देशमा तिन तहको सरकार आए पनि जनताले सोचे जस्तो गाउँ गाउँमा सिंहदरबार हुन नसक्नु उचित कानुनको अभाव रहेको सिंहले उल्लेख गरे । उनले गठबन्धनको जितले त्यसको सुनिश्चित गर्ने बताए ।