Logo

एमाले केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भैसकेको तरुण दल अध्यक्ष गुरुङको आरोप



काठमाडौं, २९ कार्तिक । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले एमाले पार्टी केपी ओलीको निजी कम्पनीको रुपमा परिणत भैसकेको आरोप लगाएका छन् । आज (मंगलबार) पर्वतको जलजलामा बृहत् तरुण भेलालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्वको गलत कार्यको आवाज उठाउदै गर्दा एमालेमा भीम रावल, घनश्याम भुसालजस्ता नेताहरु कर्नरमा पारिएको उल्लेख गर्दै एमाले बनाउन सक्रिय भूमिका खेलेका नेताहरलाई नै बहिष्कार गर्ने ओलीले तीन करोड नेपाली जनताको भावनालाई समेट्न नसक्ने बताए ।

उनले ओलीले आफ्नो निरंकुशतन्त्र लाद्ने काम गरेको र पटक पटक संसद बिघटन गर्दै महाराजा बन्ने सपनामा देशलाइ अनिर्णयको बन्दी बनाएको पनि आरोप लगाए । उनले पर्वतको प्रतिनिधिको रुपमा निर्वाचित भएका पदम गिरीले संसद्मा चर्को भाषण गर्ने गरेको भएपनि आफ्नै गाउँमा पनि सिन्को नभाँचेको आरोप लगाए ।

उनले पर्वतको विकासको लागि वाम लोकतान्त्रिक गठवन्धनलाई अत्यधिक बहुमतले जिताउनुपर्ने आवश्कता रहेको उल्लेख गरे । गुरुङ्ले लोकतन्त्र र संविधान जोगाउन गठवन्धन बनेको बताए । जलजलाको तरुणहरुलाइ पर्वतमा संघ र प्रदेशमा रहेका उम्मेदवारहरुलाई विजयी बनाउन सक्रिय भूमिका खेल्न पनि उनको निर्देशन थियो ।



प्रतिक्रिया दिनुहोस्