Logo

केपी ओली नेता हुन् भने म पनि नेता हुँ, एमालेलाई मत माग्ने समय छैनः भीम रावल



काठमाडौं, ३० कात्तिक । नेकपा एमालेका नेता भीम रावलले पार्टीले नखटाएको ठाउँमा जाँदा गुटबन्दीको आरोप लाग्ने भएकाले प्रचारप्रसारमा नगएको बताएका छन् ।
‘अछाम जिल्ला कमिटीले एकल र सर्वसम्मत रुपमा उम्मेदवार बनाएर पठाउँदा मलाई टिकट दिएनन् । त्यति गर्दा पनि चुप लागेर बसेका बेला पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिवले ममाथि सार्वजनिक रुपमा किन प्रहार गरेको ? अध्यक्ष केपी ओलीबाटै कञ्चनपुर र दैलेखमा गएर व्यक्तिगत अपमान गर्ने काम भयो । ओली नेता हो भने म पनि नेता हो नि । पार्टी अध्यक्षले मेरोविरुद्ध बोल्ने हो त ? पार्टीले नखटाएको ठाउँमा जाँदा गुटबन्दीको आरोप लाग्छ । आफूमाथिका आरोपको जवाफ दिन थाल्दा जनमत बिथोलिदियो भन्ने आरोप लाग्ला । उहाँहरुले नै मेरो बाटोमा तगारो हाल्नुभएको हो । तगारा हटाएको भए म जान्थें । तर यस विषयमा पार्टीमा मसँग कुनै छलफल भएको छैन । अब त एमालेलाई मत माग्ने समय नै छैन,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै रावलले भने ।
उनले आफूले एमालेको कुनै अनुशासन उल्लंघन नगरेको पनि दाबी गरे । रावलले भने, ‘मैले कुन दिन ह्वीप उल्लंघन गरें, म चुनौती दिन्छु । केपी ओली संसद्मै जानुहुन्न, उहाँसँग कहाँ छलफल गर्न जाने ? एमसीसीमा बाहेक मैले उपनेता र प्रमुख सचेतकलाई छलफल नगरी बोलेको छैन । पार्टीले एमसीसीबारे कहिल्यै निर्देशन दिएको पनि छैन । एसपीपी हुनुहुँदैन भन्दा केपी ओलीको विरोध कसरी भयो ? नागरिकता विधेयकको विरोध गर्दा एमालेको विरोध कसरी भयो ? म व्यक्तिगत गुणगानमा बाजा बजाउँदिनँ । कम्युनिस्टलाई शैतान भन्ने होलिवाइन खान जान्नँ । मेरो प्रश्न छ, ओलीले पार्टीको कुन निकायमा छलफल गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो त ?’
उनले मंसिर ४ मा मतदान गर्न अछाम जाने पनि बताए । तपाईंले सूर्यमा मतदान गर्नुहुन्छ कि रुखमा भन्ने पत्रकार धमलाको प्रश्नमा रावलले थपे, ‘म एमालको सदस्य हुँ । ५० वर्षदेखि यो पार्टीमा छु । तपाईंले मलाई यो प्रश्न गरेको मिलेन । व्यक्तिगत रुष्टता आफ्नो ठाउँमा छ, देशभक्ति र स्वाधिनताका लागि काम गरेका उम्मेदवारलाई जिताउनुपर्छ भनेर म अछाम जान लागेको हुँ ।’
एमाले र कांग्रेसले गरेका दुवै गठबन्धन, तालमेल र साँठगाँठ घोर अवसरवादी भएको आरोप पनि रावलले लगाए । साथै उनले दलको औचित्य आफ्ना कामकारबाहीबाट प्रमाणित हुनुपर्ने र दलीय व्यवस्थामा कुनै दलले औचित्य साबित गर्न नसक्दा अरु दल उदाउने दाबी पनि गरे ।
यस पटक कुनै पनि दलले बहुमत नल्याउने पनि रावलले बताए । उनले भने, ‘गठबन्धन र तालमेलको खिचडी नभएको भए भन्न सक्थें । सिद्धान्त र विचार अनुसार छुट्टाछुट्टै लडेको भए स्वाभाविक हुन्थ्यो । एमालेलाई होलीवाइन, राप्रपा, जसपा ककसले भोट हाल्छ ? मलाई थाहा छैन । तर ठूलो दल कि कांग्रेस हुन्छ कि एमाले हुन्छ । तर बहुमत कसैले ल्याउन सक्दैन ।’
उनले शेरबहादुर देउवा पाँचचोटिबाट ६ चोटि प्रधानमन्त्री भएर के गजब हुन्छ भनी प्रश्न गरे । रावलले भने, ‘अब कुनै बाँकी छ भने नदीको स्रोत विदेशी कम्पनीलाई जिम्मा लगाउने त होला नि । अब एमालेमै बस्नुहुन्छ कि अन्य पार्टीमा जानुहुन्छ भन्ने प्रश्नमा उनले भने, म अहिलेसम्म एमालेकै सदस्य हुँ । पार्टीलाई पटकपटक जोगाएको छु । भविष्यको कुरा थाहा छैन । तर मैले किन छाड्ने ?’ घनश्याम भुसाललाई आफूले समर्थन दिनुपर्ने कुनै अवस्था नरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot