Logo

देशको माटो बचाउनेलाई मात्र भोट दिनुस् : डा. प्रेमसिंह बस्न्यात (भिडिओसहित)



काठमाडौं, ३० कात्तिक । डा. प्रेमसिंह बस्न्यातले देशको माटो बचाउनेलाई मात्र भोट दिन आग्रह गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा माटो बेचेर राजनीति गर्नेलाई डाँडो कटाउनुपर्ने बताएका छन् ।

एउटा पेशाबाट सेवा निवृत्त भएका कुनै पनि राजनीतिक दलमा आवद्ध भएका व्यक्तिहरुलाई विभिन्न आयोगका प्रमुख बनाउने प्रथा तत्काल खारेज गर्नुपर्ने बताए । उनले भने,‘आयोगको प्रमुख लोकसेवा आयोगबाट प्रतिस्पर्धामा ल्याएर गराइयोस्, यदि त्यस्तो गर्न सकिएन भने राजनीतिक दलका झोलेहरु आयोग भरी हुनेछन्, र देशको हितमा केही काम हुनेछैनन् । उनीहरुले ५ सय खानेलाई अख्तियारले समात्ने तर ५ हजार खानेलाई छाड्नेछन् ।’ उनले संयुक्त राष्ट्र संघको शरणार्थी आयोग खारेजीको माग गरे । विभिन्न देशबाट शरणार्थी ल्याएर शरर्णाथीको केन्द्र नेपाल बनाउन नहुने उनको तर्क थियो ।

पुर्व सुरक्षाकर्मीहरु कुनै पनि संगठनमा जान छुट भएपनि जुन दलमा गएपनि आफूले राखेका प्रस्ताव खुलाउनुपर्ने धारणा राखे । उनले भने,‘राप्रपा, एमाले, कांग्रेस, माओावदीमा जाने बहालवाला सेना र भूपू सेनाको बारेमा के के कुरा प्रस्ताव राख्नुभयो ? भुपु सेनाहरुले नेताहरुकै झोलामात्र बोक्ने हो भने पेन्सन पट्टाले सराप्ने छ ।’

माओवादीका अध्यक्ष पुष्पकमल दाहालका नाममा ‘प्रचण्ड’ झुण्डाइएपछि अझैपनि आतंककारी जस्तो लाग्ने उनले टिप्पणी गरे । ‘द्धन्द्धकालमा १७ हजार मानिस मरेको भएपनि ५ हजारको जिम्मा लिने नरहत्याकारी प्रचण्डलाई कुन आधारले मत माग्न जाने ?’ उनले भने,‘पृथ्वी नारायण शाहको शालिक तोड्ने, वंशनाश गर्नेहरुलाई नेपाल जस्तो पवित्र भूमिलाई भोट माग्न आज कसैलाई पनि लाज लाग्नुपर्ने हो ।’

उनले प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई फालेर नेपाललाई उत्तर कोरिया बनाउन लागेको समेत आरोप लगाए । नेपालका कम्युनिष्टहरुलाई ‘धतुरे’को संज्ञा दिँदै अमेरिकाको दलाल भएको टिप्पणी गरे । उनले भने,‘ती मध्ये सबैभन्दा पहिलो दलाल प्रचण्ड हो ।’
प्रचण्डकै कारणले नेपालमा एमसीसी पास भएको भन्दै उनले माओवादीलाई भोट नदिन मतदातासँग आग्रह गरे । उनले भने,‘शान्ति चाहानुहुन्छ भने माओवादीलाई भोट नदिनुस ।’

नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा विपिका विरोधी भएको आरोप लगाए । ‘ताइन तुइका गफ दिने’ केपी शर्मा ओली र बाल्वाटारको जग्गा बेच्ने विष्णु पौडेल जस्ता व्यक्तिको पार्टीलाई भोट नदिन उनले आग्रह गरे ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल ५२÷५३ चोटी होलि वाइनमा जोडिइसकेको र उनले देशका लागि केही नगरेको उनले टिप्पणी गरे । उनले भने,‘भारतीय आर्मीले राजा विरेन्द्र शाहलाई अपहरण गर्ने कुरा नेपाली सेनालाई इनसर्कलमेन्टगर्ने कु्रा त पटकपटक नेताहरुले बोलेका छन् । उनी कहिल्यै पनि जनताले रुचाएका व्यक्ति होइनन् ।’ उनले कुनै पनि पार्टी नहेरेर देशलाई माया गर्ने राम्रा व्यक्तिहरुलाई मत दिन आग्रह गरे ।

बस्न्यातले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनामाथि पनि अपराध गरेको आरोप लगाए । उनले भने,‘नेपाली सेनाले त क को ख पनि गर्दैन् । ओलीजी कति झुठो बोल्नुहुन्छ, त्यो त मैले भनिरहनुपर्दैन् ।’

उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि पनि कडा प्रहार गरे । उनले भने,‘नेपाली सेनासँग आवद्ध भएको कारणले म यो कुरा भन्दैछु, रिङ रोडभन्दा उता सबै प्लटिङ हेर्नुहोस, त्यहाँका ठूला हाउजिङ सबै, त्यहाँ पहिलो लकडाउन हुँदा सबै डाँडो फाँडेर प्लटिङ गरिरहेका थिए, मैले देखेर भनेको हुँ ।’ उनले पोखरेलले पानीट्याँकीमा पैसा राखेको कुरा त सबैलाई थाहा भएको सुनाए । उनले प्रचण्ड प्रधानमन्त्री हुँदा रुक्मांगत कटवाल प्रकरणमा पनि डेढ करोड पैसा खाएको भनेर आफूलाई माओवादीका मान्छेले प्रमाण दिएको स्मरण गराए ।

उनले ईश्वर पोखरेलजस्तो खराब व्यक्तिलाई भोट नहाल्न पनि अपिल गरेका छन् । उनले भने,‘यसलाई (ईश्वर) पोखरेललाई हराउनुपर्छ । मेरो छातीमा लात्ती हानेकोजस्तो भएको छ ।’ सेनालाई बद्नाम गरेर कोरोनाकालमा औषधीको ठेक्कापनि पोखरेलले नै हालेको गम्भीर आरोप लगाए । त्यस्तै, काठमाडौं–निजगढ फाष्ट ट्रयाकमा पनि पैसाको लागि ठेक्का हाल्ने काम ईश्वर पोखरेलले नै गरेको उनको गम्भीर आरोप छ । चप्पल लगाएर ओखलढुंगाबाट काठमाडौं आएका ईश्वर पोखरेल अहिले खर्बपती बनेको भन्दै उनले कडा आक्रोश पोखे ।

उनले काठमाडौं–५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेललाई जिताउनुपर्ने र ईश्वर पोखरेललाई ठाउँका ठाउँ हराउनुपर्ने भन्दै आम मतदाताहरुसँग अपिल पनि गरे ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot