काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको अहिले जनमत बढेको दाबी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन र माओवादीको पक्षमा नै चुनावको माहोल बनेको दाबी गरे । उनले जनताले विकास खोजेको पनि सुनाए । उनले अब राजनीतिक स्थायित्व र आर्थिक क्रान्तिलाई सँगसँगै लैजाने बताए । अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय समावेशी गणतन्त्रलाई उल्टाउने प्रयास गरेको आरोप लगाएका छन् ।
उनले ओलीलाई सबै जनताले अधिकार पाएको कुरा मन नपरेको पनि जिकिर गरे । प्रचण्डले आफूले प्रधानमन्त्रीको रुप्मा पहिलो र दोस्रो कार्यकालमा देश र जनताको हितमा काम गरेको दाबी गरे । तर, एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको कालमा भ्रष्टाचारबाहेक केही पनि नगरेको उनको आरोप छ ।
उनले ओलीले गणतन्त्र, संविधान र व्यवस्था उल्टाउनेबाहेक केही पनि काम नगरेको गम्भीर आरोप लगाए । उनले ओलीले स्थानीय तहको निर्वाचनमा हार व्यहोरेको केन्द्रदेखि प्रदेशसम्मको सबै सरकारबाट हट्नुपरेको सुनाउँदै अब मत माग्ने अधिकार नभएको जिकिर गरे ।