Logo

निर्वाचनको परिणामले जनतामा कुनै परिवर्तन नआउने रायमाझीको दाबी



काठमाडौं, १ मंसिर । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनले नेपाली जनतामा कुनै परिवर्तन नआउने दाबी गर्नुभएको छ । आगामी निर्वाचन अन्तर्राष्ट्रिय रुपमा नेपाल प्रजातान्त्रिक मुलुक हो भनेर देखाउन गरिएको प्रपञ्च मात्रै भएको उनको भनाइ छ ।

समाजले बहिस्कार गर्नुपर्ने व्यक्तिहरु नै आज सत्ता सेरोफेरो पुगेको र गठबन्धन गरिएको उनले टिप्पणी गरे । उनले भने,‘विविध कालखण्डमा अपराध गरेकाहरुबीच आजको दिनमा गठबन्धन भएको छ ।’ संविधान आफैमा अपुरो रहेको र नेपालीहरुले अपनत्व महसुस गर्न नसकिरहेको भन्दै उनले आगामी निर्वाचनको परिणामले जनताका अपेक्षा र राष्ट्रको संवेदनशिलता पुरा नहुने जिकिर गरे ।

पछिल्लो समय राजनीतिक दलहरु कम्पनीको रुपमा चलेको आरोप लगाउँदै लेखक समेत रहेका रायमाझीले भने, ‘कम्पनीले साधारण सभा मात्र गर्ने हो, यसले चुनावको लागि वैधता दिने मात्र हो । यसबाट केही नयाँ सोच जन्मदैन् ।’

रायमाझीले अबको १० वर्षमा नेपालमा उदयमान शक्तिहरुको परिवर्तन आउने बताए । दक्षिण एसिया आर्थिक र सामाजिक दृष्टिकोणले शक्तिशाली हुने उनको भनाइ थियो । कुनै पनि दलहरुले आर्थिक समृद्धिको लक्ष्य बारे घोषणा पत्रमा उल्लेख नगरेको उनले टिप्पणी गरे ।
सबै राजनीतिक दलहरुले भ्रष्टाचार अन्त्य कसरी गर्ने र दोहन गरेको सम्पक्तिलाई राष्ट्रियकरण कसरी गर्ने लगायत परराष्ट्र नीति र नेपाली सेनाको बारेमा घोषणापत्रमा केही उल्लेख नगरेको बताए ।

पछिल्लो समयमा गरिएको सत्ता गठबन्धन पछि झन् नेपालको राष्ट्रियता निकै कमजोर भएको उनको विश्लेषण छ । उनले भने,‘यसले प्रजातान्त्रिक मुल्यलाई पनि आत्मसाथ गर्न सकेन, न्याय प्रणालीलाई पनि स्वतन्त्र राख्न सकेन, कार्यपालिका र व्यवस्थापिकाको अधिकारलाई पृथकीकरणमा अगाडी लैजान सकेन । यसको परिणामले मुलुक फेरी केन्द्रीकृत शासनप्रणालीमा गयो र संघीयताको नाममा व्यापार गर्नेहरुको कम्पनी खुल्यो ।’

आगामी चुनावलाई साधारण सभाको संज्ञा दिँदै उनले भने,‘चुनावमा त प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गर्ने हो भने विचारको प्रतिस्पर्धा गर्न दिनुपर्यो, सिद्धान्तको प्रतिस्पर्धा हुनदिनु पर्यो, प्रतिस्पर्धाबाट आएको विचार सिद्धान्तले राज्यलाई निर्देशित गर्नुपर्यो, जनताबाट निर्वाचित प्रतिनिधिहरुले आफ्नो घोषणापत्र अनुसार अगाडी बढ्नुपरयो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन छाडेर जित सहज देखेकाले गोरखामा चुनाव लड्न पुगेको उनको तर्क छ । ‘चितवनमा भन्दा कम रकममा गोरखामा चुनावमा लड्न सकिने, गोरखामा उत्तरी नाकाहरुमा पछिल्लो समयका तस्करीका नाका हुन्, सुन व्यापारलगायतका अवैध कारोबारहरु त्यहाँबाट हुने गर्छन्, ती सबैलाई मलजल गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । प्रचण्डले ठेकेदार र तस्करीहरुसँग पैसा असुलीरहेका छन् ।

निर्वाचन आयोगको बारेमा बोल्दै रायमाझीले अहिले आयोग प्रधानमन्त्री कार्यालय मुखपत्र जस्तो भएको टिप्पणी गरे । आयोगले विषय उठान गर्ने तर केही गर्न नसक्ने समेत आरोप लगाए । विश्लेषक रायमाझीले शेरबहादुर देउवा, प्रचण्ड, ओलीबाट देश नचल्ने भन्दै हिन्दुसहितको राजसंस्था देशलाई आवश्यक रहेको दाबी गरे । नेताहरु असफल भइसकेको उनको भनाइ थियो । उनले भने,‘राजतन्त्र फाल्नको लागि जनताले आन्दोलन गरेका होइनन्, माओवादीको आन्दोलन गणतन्त्रको लागि पनि गरिएको होइन, शक्ति सम्पन्न राष्ट्रहरुले गराएको क्रृतिम आन्दोलन हो, त्यसैले दलहरुले ठुलो गफ नलगाए पनि हुन्छ ।’

धर्म सापेक्ष हुँदा देशलाई केही नोक्सान नभएको भन्दै उनले कुनै पनि धर्म आज सुरक्षित नरहेको समेत बताए । रायमाझीले भ्रष्टाचारी, देश बेच्ने, दुरचारीहरुलाई सबक सिकाउन आ–आफ्नो क्षेत्रबाट मतदान दुईपटक सोचेर मतदान गर्न सम्पुर्ण मतदातासँग आग्रह गरे ।
मतदाताहरुले आफूले दिएको मतले देश बेच्ने तत्व हावी हुनेमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

 



प्रतिक्रिया दिनुहोस्