Logo

म झुठो बोल्दिनँ, सत्य छोड्दिनँ : ओली



काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशभरका आम मतदातालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै आफ्नो र आफ्ना छोराछोरीको भविष्यलाई सम्झेर सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । ओलीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मतदानको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत देशभरका मतदातालाई अब स्पष्ट निर्णय लिने समय आएको बताएका छन्।

‘मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्नेछ, शेरबहादुर देउवा वा म केपी शर्मा ओलीको हातमा ?,’ अध्यक्ष ओलीले भने । देशमा स्वार्थी गठबन्धन रहिरहे मुलुक बर्बाद हुने बताउँदै ओलीले भनेका छन्–‘तपाई मतदाता र तपाईका छोराछोरीको भविष्य समेत बर्बाद हुनेछ ।’

अओलीले सूर्य चिन्हमा मतदान एमालेको जितका लागि नभएको स्पष्ट गर्दै अपिलमा थप भनेका छन्–’म तपाई र तपाईको सन्तानको सुखको लागि, राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दै छु ।’

ओलीको अपिलको पूर्ण पाठ यस प्रकार छः

प्रिय मतदाता,
अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकी मंसिर ४ गते तपाईले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्नेछ ।
शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?
त्यसैले भोट हाल्नु अघि ‘दुई–भविष्य’लाई सम्झनु होला ।
पहिलो, तपाईको आफ्नै भविष्य र,
दोस्रो, तपाईको छोराछोरीको भविष्य !

प्रिय मतदाता,

म झुठो बोल्दिन, सत्य छोड्दिन ।
तपाईलाई थाहा छ, म पटक पटक मृत्युको मुखमा पुगेर फर्केको व्यक्ति हुँ ।

अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ । जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहिरहे मुलुक बर्बाद हुनेछ । तपाई र तपाईका छोराछोरीको भविष्य समेत बर्बाद हुनेछ ।
त्यसैले आज म यस सन्देश मार्फत तपाईसँग भोट माग्दै छु ।
तर मैले मागेको भोट एमालेको जितका लागि होइन ।
म–
तपाई र तपाईको सन्तानको सुखको लागि,
राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा
र, पाँच वर्ष टिक्ने स्थिर सरकारका लागि
भोट माग्दै छु ।

यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ । त्यसैले,सूर्य चिन्हमा मतदान गर्नुहोस् ।
धन्यवाद !



प्रतिक्रिया दिनुहोस्