Logo

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न बुद्धिजीवी पेशागत सङ्गठनहरुको आह्वान (भिडिओसहित)



काठमाडौं, १ मंसिर । बिभिन्न बुद्धिजीवी पेशागत संघ तथा संगठनहरुले मंसिर ४ गते आम निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पेसागत संगठनहरुले लोकतन्त्र, गणतन्त्र तथा संविधानको रक्षा र सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन संयुक्त रुपमा अपिल गरेका हुन् ।

आगामी निर्वाचनमा दलहरुले उठाएका उम्मेदवारमध्ये सक्षम र योग्य उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र मुलुकमा राजनीनिक स्थिरता, सुशासन र समृद्धि हाँसिल हुनसक्ने ती पेसागत संगठनको ठहर छ । देशमा यसअघि भएका विभिन्न आन्दोलनमा बुद्धिजीवी तथा पेसाकर्मीहरुले महत्वपुर्ण भूमिका निर्वाह गरेजस्तै संविधान रक्षाको लागि पनि आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउनको लागि सक्रिय रुपमा लागिपर्न पेसाकर्मीहरुलाई आग्रह गरेको छ ।

‘संविधान जारी भएपछि विगतमा केपी ओलीले सरकार सञ्चालन गर्दा बढाएको भ्रष्टाचार, अनियमितता र दलाल पुँजीपतिहरुसँग गरिएको साँठगाँठले जनतामा वितृष्णा फैलाएको’ पेसागत संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मुलुकको आर्थिक–सामाजिक रूपान्तरणको लागि राजनीतिक दलहरुले निर्वाचनका क्रममा जाहेर गरेका प्रतिबद्धताअनुरुप जनताको जिविका, रोजगारी, सर्वसुलभ, निःशुल्क स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको सुविधासहित सामाजिक न्यायको लागि सरकारको नीति कार्यक्रमको रुपमा प्रभावकारी रुपमा लागु गर्नुपर्ने संगठनहरुले माग गरेका छन् ।

पेसागत महासंघ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी महासंघ, समाजवादी पेसागत कानुन व्यवसायी संगठन, प्रजातान्त्रिक कानुन व्यवसायी संघ, एकीकृत टे«ेड युनियन महासंघ, समाजवादी इञ्जिनियरिङ एसोसिएसन नेपाल, समाजवादी प्रेस संगठन नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल राष्ट्रिय इञ्जिनियर संगठन, सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले (११) वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपिल गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै पेशागत महासंघका अध्यक्ष प्रेमलकुमार खनालले मुलुकभरका पेशाकर्मी, बुद्धिजिविहरु सहभागिता भएकै भरमा देशमा पटक–पटक भएका विभिन्न आन्दोलनले सफलता प्राप्त गरेको बताए । खनालले संविधानमा गम्भिर चुनौती खडा भइरहेको बेला मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न सबै पेसाकर्मीहरुलाई आग्रह गरे । उनले प्रेश विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।

यसैगरी, गणतान्त्रिक कानुन व्यवसायी संघका अध्यक्ष रमण श्रेष्ठले २०७२ को संविधान जनताको मौलिक अधिकारको विषयले धेरै राम्रो बनेको दाबी गरेका छन् । उनले भने,‘धेरै देशका संविधान एक पक्षीय हुन्छ, हाम्रो ०७२ को संविधानमा साम्यवादी दर्शनको विचार मान्नेहरु र प्रजातान्त्रिक दर्शन मान्नेहरुको पनि विचार समेटिएको छ, त्यसमापनि सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक सबै अधिकारलाई समेटिएको संविधान छ ।’श्रेष्ठले कुनैपनि उम्मेदवारलाई भोट हाल्दा उनीहरुको राजनीतिक दृष्टिकोण, भुराजनीतिक, सांस्कृतिक, सामाजिक कार्यक्रमहरु पनि बुझ्न जरुरी हुने बताए । उनले भने,‘यस्ता सबै विषय भएका उम्मेदवारलाई जिताउन जरुरी छ ।’ वाम–लोकतान्त्रिक गठबन्धनले उठाएका उम्मेदवारप्रति आशावादी हुन आग्रह गर्दै उनले अहिले देखिएको मुलुकको आवश्यकत्तालाई गठबन्धनका उम्मेदवारले सम्बोधन गर्न सक्ने विश्वास दिलाए ।

त्यस्तै, प्रेस सेन्टर नेपालका उपाध्यक्ष निर्मल ज्ञवालीले गणतन्त्रको माया र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको ऐक्यवद्धता जनाउदै आफूहरु वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा उभिएको बताए । राज्यको व्यवस्थामा धक्का लागेसँगै विगतदेखि नै नेपालका पत्रकारहरुले व्यवस्था बचाउनको लागि गरिएका आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्दै आएको उनले स्मरण गराए ।

यसैगरी, समाजवादी इन्जिनियरिङ एसोशिएसन नेपालका अध्यक्ष ई.गोविन्द पौडेलले संविधान र देशलाई बचाउन गठबन्धन बनाएर चुनावमा जानु परेको बताए । देशको हितको लागि सबैले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई मत दिनुपर्ने धारणा राखे ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठले संविधानलाई नमान्ने प्रवृति देशमा हावी भएको उल्लेख गर्दै सम्पुर्ण जनता, वुद्धिजिविहरुले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिए ।

यसैगरी, समाजवादी पेसागत कानुन व्यवसायी संगठनका उपाध्यक्ष शंकर सुवेदी, डिएलएका महासचिव लक्ष्मी रावललगायतले गठबन्धनका उम्मेदवारहरुलाई मत दिएर जिताउन आग्रह गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot