Logo

केपी ओली अत्यन्तै असहिष्णु र विरोध सहन नसक्ने व्यक्ति हो : प्रधानमन्त्री देउवा (भिडिओसहित)



काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई अब समृद्धिको दिशामा लैजाने बताएका छन् । उनले भने,”नेपालको समृद्धि अब नभई नहुने कुरा हो, नेपालको समृद्धिको लागि जलस्रोतको विकास अति आवश्यक छ । नेपाल ठूला ठूला नदि भएको देश हो, जलस्रोतलाई उपयोग गरियो भने नेपालले ठूलो मात्रामा विद्युत उत्पादन गर्नसक्छ । त्यो विजुली बेचेर नेपाललाई सम्पन्न बनाउँछौं । अहिले भारतले नेपालबाट अरबौंको विजुली किनिरहेको छ । भारतले नै विजुली किन्ने हो । भारतीय कम्पनीसँग पश्चिम सेती बनाउने भनेर एग्रिमेन्ट भैसकेको छ । महाकाली सन्धि भैसकेको छ, त्यसलाई पनि हामी अघि बढाउँछौं ।”

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले जलस्रोतको विकास भएको खण्डमा नेपालमा अब सबै कुरा विद्युतीयकरण भैरहेको सुनाए ।

देउवाले आफू प्रधानमन्त्री बन्ने दौडमा नभएपनि केपी ओलीले दुई दुई पटक संसद् विघटन गरेको कारणले आफूले सरकारको नेतृत्व गर्नुपरेको स्मरण गराए । उनले अहिलेको संविधानमा जथाभावी संसद् भंग गर्ने कुरा रोकेको सुनाउँदै आफू संसद् पूनस्थापनाको लागि लडेको बताए ।

उनले आफ्नो सरकार बहुमतको सरकार भएको पनि बताए। उनले अदालतबाट संसद् विघटनको विरुद्धमा न्याय पाएको बताए । उनले एमाले अध्यक्ष ओलीलाई अत्यन्तै असहिष्णु र विरोध सहन नसक्ने नेताको रुपमा चित्रण गरे । उनले ओलीमा लचकता भन्ने कुरा नभएको जिकिर गरे । उनले ओलीलाई प्रजातन्त्रवादी व्यक्ति नै नभएको आरोप लगाए । उनले ओली त नेपालमा तानाशाही लाद्न खोज्ने व्यक्ति भएको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot