Logo

ठेक्का तोड्ने चेतावनीपछि काम थाल्दै ठेकेदार कम्पनी



काठमाडौं, मंसिर २ । नारायणगढ–बुटवल सडक योजना कार्यालयले नारायणगढ–बुटवल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनलाई सडक निर्माण कार्य अपेक्षित गतिमा नभएको भन्दै स्पष्टीकरण सोध्यो।

कार्यालयले ठेक्का तोड्नेसम्मको चेतावनी दिएसँगै अहिले ठेकेदार कम्पनीले आंशिक रूपमा काम देखाउन थालेको छ। योजना कार्यालयले पहिलो पटक ९ असोज २०७९ मा २८ दिने सार्वजनिक सूचना जारी गरेर २८ दिनभित्र योजनाको काम अपेक्षित गतिमा सुधार नभएको खण्डमा सोझै ठेक्का तोड्नेसम्मको चेतावनी दिएको थियो।

सोही बीचमा बर्सातको समयमा पानी परेर १० दिन काम गर्न नपाएको भन्दै अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले थप २१ दिनको म्याद थप गर्न सिफारिस गरेको थियो। सोही बमोजिम कार्यालयले ठेकेदार कम्पनीलाई अरू २१ दिनको म्याद थप्ने निर्णय गरेको थियो।

सडक विभाग आयोजना निर्देशनालय एडिबीका निर्देशक सुशिलबाबु ढकालले चिनियाँ ठेकेदार कम्पनीले दुई पटक स्पष्टीकरण सोध्दा पनि सोचे जस्तो काम नगरेको बताए। ‘हामीले ठेकेदार कम्पनीलाई दुई पटक सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण सोधेका थियौं,’ उनले भने ‘ठेकेदार कम्पनीले विगतमा भन्दा केही सुधार गरेको छ तर सोचेजस्तो भने छैन।’

आयोजना निर्देशक ढकालले सडक विभागले योजनाको परामर्शदाता कम्पनी केसिसीलाई आयोजनाको ठेक्का तोड्ने विषयमा आवश्यक ठोस रिपोर्ट बुझाउन अनुरोध गरेको बताए। ‘अब परामर्शदाता कम्पनीले दिएको रिपोर्टको आधारमा ठेक्का तोड्ने वा जारी राख्ने निर्णय हुनेछ।’

नारायणगढ(बुटवल सडक योजना पश्चिम खण्डका योजना प्रमुख प्रदिपराज शाक्यले योजनाले दुई पटक अल्टिमेटम दिएसँगै ठेकेदार कम्पनीले अपेक्षित गतिमा सडक सुधार गर्न नसके पनि आंशिक सुधार गरेको बताए। ‘योजनाले माग गरे अनुसारको अपेक्षित गतिमा काम नगरे पनि पहिलाभन्दा केही सुधार गरिरहेको छ,’ उनले भने, ‘हामीले चाहेजतिको काम नगरे पनि विगतको भन्दा अहिले काम गर्ने स्पीड भने बढाएको छ।’ योजनाका अनुसार अहिले ठेकेदार कम्पनीले डण्डी बाँध्ने र खन्ने कार्यलाई केही गति दिइरहेको छ।

ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले नारायणगढ–बुटवल सडक खण्डको ४२ महिनाको अवधिमा २० प्रतिशतभन्दा कम भौतिक प्रगति गरेको छ। गत साउन २२ गते योजनाको ४२ महिने म्याद सकिएको थियो। अहिलेसम्म यो आयोजनाको समष्टिगत भौतिक प्रगति २० प्रतिशतभन्दा कम छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot