काठमाडौं, २ मंसिर । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले राजनीतिक दलहरुबीचको अभिव्यक्तिका कारण तनाव सिर्जना नहोस् भनेर हिजो मध्यरातिदेखि ‘कुलिङ पिरियड’ कार्यान्वयन भएको बताए ।
‘निर्वाचन सम्पन्न नहुन्जेलका लागि राजनीतिक दलहरुको प्रचारप्रसार रोकिएको छ । राजनीतिक दलहरुबीच विभिन्न अभिव्यक्तिका कारण तनाव सिर्जना हुने भएकाले यसो गर्नुपरेको हो । कुनै अनपेक्षित घटना थाहा भए वा सूचना पाए त्यसलाई रोक्न र नियन्त्रणमा लिने रोक्ने काम स्थानीय प्रशासनले गर्छ । तर हामी सुनेका आधारमा भन्दा पनि तथ्य र प्रमाणका आधारमा कारबाही गर्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्यालले भने ।
उनले यसपटक मत बदर कम हुने आशा पनि व्यक्त गरे । अर्यालले थपे, ‘कतिपय अवस्थामा नजानेर नबुझेर बदर हुन्छ । तर यस पटक मतपत्र त्यति जटिल छैन । एउटा मतपत्रमा एउटा मात्र छाप हान्न गाह्रो हुन्न । तर मतपत्र फरक पारिदिनुहुन्छ कि भन्ने मात्र डर हो । त्यसमा मतदान केन्द्रका कर्मचारीले सहजीकरण गर्छन् ।’
मतदान प्रतिशत बढाउन आयोगले प्रचारात्मक कार्यक्रम चलाएको पनि प्रवक्ताले बताए । उनले भने, ‘२०७४ मा ६९ प्रतिशत मतदाता सहभागी भएका थिए । अहिले तयो प्रतिशत बढ्छ । दल तथा उम्मेदवारले पनि मतदातालाई प्रेरित गरिरहेका छन् ।’ यसपटक २२ हजार मतदान केन्द्रमा २ लाख ५० हजार कर्मचारी र तीनदेखि चार लाख सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।
सहप्रवक्ता अर्यालका अनुसार ४४ वटा स्वदेशी संस्था र चार अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले निर्वाचन अनुगमनको अनुमति पाएका छन् । स्वदेशी ७ हजार २ सय ७ र विदेशी १२ जना पर्यवेक्षकले निर्वाचनको अनुगमन गर्नेछन् । भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त, श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोली आउने पनि अर्यालले बताए ।