Logo

पूर्व प्रमुख निर्वाचन आयुक्त भन्छन्- मौन अवधिमै मतको व्यापार दुःखद हो



काठमाडौं, २ मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विद्युतीय मतदानमा जान ढिलो भैसकेको टिप्पणी गरेका छन् ।
‘मत बदर जुनसुकै निर्वाचनमा हुन्छ । यसको प्रमुख कारण मतपत्रको जटिलता हो । दल र उम्मेदवार धेरै छन् । मतदान स्थल उज्यालो छैन । सानो ठाउँमा धेरै व्यवस्थापन गर्नुपरेको छ । मतदाता शिक्षा व्यापक रुपमा हुन सकेको छैन । प्रदेश र प्रतिनिधिसभा, समानुपातिक मतपत्रका कारण पनि अप्ठ्यारो छ । इलेक्ट्रोनिक भोटिङ मेसिनमा जान ढिलो भैसक्यो । मेसिनमा गएपछि बदर हुने सम्भावना हुन्न,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
उनले नेपालमा मतदान प्रतिशत भने विकसित मुलुकको तुलनामा बढी भएको पनि औंल्याए । यादवले भने, ‘मतदानप्रति मतदातामा उत्साहित नै छन् । राजनीतिक दलका प्रतिनिधिहरुले प्रचारप्रसार गरेकै छन् । असल र आफूले मन परेका उम्मेदवारलाई मतदान गर्न जान्छन् । त्यसैले ६४ देखि ७५ प्रतिशतसम्म मतदान भएको छ । त्यति त विकसित मुलुकमा पनि छैन । जनता लोकतन्त्रप्रति समर्पित छन् । यो सकारात्मक छ ।’
निर्वाचनमा मनी र मसल्सको प्रयोगले असल उम्मेदवार पछाडि पर्ने गरेको पनि यादवले बताए । उनले भने, ‘मौन अवधिमा मतको व्यापार दुखद हो । लोकतन्त्रमा दलको विकल्प दल नै भएको तर दलको संख्याले त्यसलाई प्रभाव पार्ने पनि उनको धारणा छ ।’
निर्वाचन आयोगको नियुक्ति प्रक्रिया सुधारका लागि संविधान संशोधन गर्नुपर्ने पनि उनले औंल्याए । यादवले भने, ‘नेपालमा संवैधानिक निकायहरु निष्पक्ष र तटस्थ हुन नसकेको आम टिप्पणी छ । नियुक्ति प्रक्रियामा सुधारका लागि संविधान संशोधन गर्नुपर्छ । त्यसो नहुँदा निर्वाचन आयोगको व्यवस्थापकीय पक्षमा प्रश्न उठेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot