काठमाडौं, २ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले मतदानको दिन आइसके पनि जनतामा पटक्कै उत्साह नभएको बताएका छन् ।
‘जनतामा भोट हाल्ने कि नहाल्ने, पटक्कै उत्साह छैन । यतिका वर्षसम्म केही पनि प्रगति भएन । तर भोट नहाल्दा पनि लोकतन्त्रमाथि अन्याय हुन्छ । अब व्यक्तिलाई हेरौं । युवाहरुलाई हेरौं । हामी परम्परागत भोट बैंक बनेर नै नेताहरुले कुल्चिएर हिँडेका हुन् । अब हामी हामी नोकर नबनौं, मालिक बनौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने ।
उनले पाँच दलले गठबन्धनका नाममा निर्दलीय व्यवस्था लादेको आरोप पनि लगाए । डा. दीक्षितले भने, ‘अहिलेको सबैभन्दा ठूलो विडम्बना त मूल पाँच दलले जनतालाई भोटको अधिकार दिएन । निर्दलीय व्यवस्था लादे । चितवन र डडेलधुरामा प्रशासन नै उनीहरुका पक्षमा लागेका छन् । अब हामी तिम्रो नोकर होइन भनेर जनताले आफ्नो शक्ति देखाउनुपर्छ । दलभित्रै खोज्ने भए पनि कमसेकम जो गन्हाएका छैनन्, देशलाई लुटेका छैनन् । राम्रा, देशभक्त र जनपक्षीयलाई जिताउनुपर्छ ।’
आफूलाई स्वतन्त्र उम्मेदवारहरुको पक्षमा उभ्याउँदै उनले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने औंल्याए । उनले भने, ‘अघिल्लो पालि म नियोक भन्ने निर्वाचन अनुगमन गर्ने संस्थामार्फत वीरगन्ज पुगेको थिएँ । त्यहाँ निर्वाचनको अघिल्लो राति नै बिटोका बिटो पैसा बाँडिएको हुँदो रहेछ । निर्वाचनको मौन अवधिमा कोही पनि मौन बस्दैन । आयोगले नियन्त्रण गर्न पनि सक्दैन ।’
नागरिक अगुवा डा. दीक्षितले वैकल्पिक व्यवस्था नगरी सडकका नाङ्ले व्यापारीको रोजीरोटी खोसिएको आरोप पनि लगाए । उनले भने, ‘अहिले बागमती किनाराका सुकुम्बासीलाई हटाउने भनिँदै छ । उनीहरु पञ्चायतकालदेखि यहाँ बस्दै आएका हुन् । बालेन साहले नाङ्ले व्यापारीलाई विकल्प नदिई हटाए । सर्वहारावर्ग र समाजवादीको सरकार भन्ने अनि सुकुम्बासी बस्तीमा बुलडोजर चलाउने लोकतन्त्र हुन्छ ? सुकुम्बासीलाई हटाएर अब नेताहरूले हडप्ने ?’