पोखरा, मंसिर ४ । आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ ।
निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही मंसिर ५ देखि यान्त्रिक परीक्षण हुनेछ । नेपालगञ्जबाट उडेको जहाज शनिबार यहाँ आइपुगेको विमानस्थल प्रवक्ता अनुप जोशीले जानकारी दिए ।
क्यालिब्रेसन फ्लाइटका लागि आएको जहाजले विमानस्थलमा जडित सबैखाले उपकरणको परीक्षण गर्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंसिर ५ देखि ११ सम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको हो ।
क्यालिबे्रसन फ्लाइटका कारण चालु रहेको यहाँको विमानस्थलमा केही उडान प्रभावित हुने छन् । त्यसको लागि नोटाम जारी गरिएको छ । क्यालिब्रेसन फ्लाईट लागि नोटाम जारी भएको अवस्थामा अरु नियमित उडान हुन सक्दैनन् ।
क्यालिब्रेसन परीक्षण हुने भए पछि बिहान १० बजेभन्दा अघि र दिउँसो १ देखि साढे २ सम्म मात्र चालु विमानस्थलबाट उडान हुने छन् । अरु बेला उडान प्रभावित हुने जनाइएको छ । पोखरा विमानस्थलबाट हाल काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, धनगढी र नेपालगञ्जका लागि नियमित उडान हुने गर्दछ । राजधानी दैनिकबाट