Logo

संवेदनशील मतदान केन्द्रमा नेपाली सेनाको हवाई गस्ती



काठमाडौं, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थामा सरकारले कडाइ गरेको छ । जनताले निर्भयपूर्वक मतदान गर्न पाऊन् भन्ने उद्देश्यले निर्वाचन सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ छन् ।
राज्यको सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सबै सुरक्षा व्यवस्था मिलाइसकेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने, ‘सबै मतदान केन्द्र सुरक्षित छन् । हामीले निर्भीक भएर मतदान गर्नका लागि सम्पूर्ण वातावरण बनाएका छौं । चुनाव बिथोल्ने वा कानुन हातमा लिनेहरुलाई तत्काल नियन्त्रणमा लिन्छौं । एक महिनाअघिदेखि नै नेपाली सेना गस्तीमा छ ।’
गृहमन्त्रालयका अनुसार आज निर्वाचन सुरक्षाका लागि ७१ हजार ६९३ नेपाल प्रहरी खटिएका छन् । निर्वाचनमा खटिने सम्पूर्ण सुरक्षाकर्मीको संख्या २ लाख ९८ हजार ५७९ छ । एकै चरणमा निर्वाचन गर्नु चुनौतीपूर्ण पनि विगतका कमजोरी हटाउँदै गृहमन्त्रालयले काम गरेको पनि पोखरेलले बताए ।
यसैगरी, नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले ७७ जिल्लाका हरेक मतदान केन्द्रमा सेनाले बाहिरी सुरक्षाको जिम्मा लिएको बताए । उनले भने, ‘९०३ वटा बम डिस्पोजल टुकडी तैनाथ छन् । केन्द्रमा पनि रिजर्भ टोली छ । प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रमा एकीकृत सेल खडा गरेका छौं । चौबिसै घन्टा अन्य सुरक्षा निकायसँग सहकार्य गरेका छौं । कुनै पनि अप्रिय घटना हुने अवस्थामा जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयबाट बोलावट भएको ३० मिनेटभित्र उपस्थित हुने गरी सेनाको तैनाथी हुन्छ ।’
प्रवक्ता सिलवालले इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा हेलिकोप्टर हवाई गस्तीका लागि रहेको र केन्द्रमा केही हेलिकप्टर जगेडामा रहेको बताए । त्यसले मतपेटिका बाकस ढुवानीमा प्रयोग गर्न सकिने उनले औंल्याए । साथै उनले संविधान प्रदत्त नागरिक अधिकारको ढुक्कले प्रयोग गर्नका लागि व्यवधान आएको अवस्थामा सेनाले कम शक्ति प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने र शान्ति कायम गर्ने पनि बताए ।
त्यस्तै, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले घरदेखि मतदान स्थलसम्म नागरिकलाई सुरक्षा दिइरहेको बताए । उनले भने, ‘कहीं कतै केही समस्या भए तत्काल खबर गरे मतदातालाई कुनै समस्या पर्दैन । निर्वाचन बिथोल्ने उनीहरुको हैसियत नै छैन । हामी निस्तेज पार्न सक्षम छौं ।’ सशस्त्र प्रहरीले बोर्डर आउजाउ रोक्ने, मतदान केन्द्रबाहिर हुने गतिविधिको निगरानी गर्ने र मतपेटिकालाई सुरक्षित पूर्वक मतगणना स्थलमा पुर्याउने कार्यादेश रहेको पनि अर्यालले बताए । उनले भने, ‘हामी खटिएको चुप लागेर बस्नका लागि होइन । मानवअधिकार र जनताको मतदान गर्ने अधिकारको सम्मान गर्दै हामीले सुरक्षाका निम्ति तैनाथी बढाएका छौं ।’
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि आफूले चाहेको राजनीतिक दल र उम्मेदवारलाई मतदान गरेर शासनमा पुर्याउने अवसरको सदुपयोग गर्न सबै नागरिकलाई आह्वान गरे । मतदानस्थलमा अपांग, अशक्त, सुत्केरी, वृद्धवृद्धालाई लामबद्ध हुनुनपर्ने र विश्रामको व्यवस्था गरिएको अनि ३९२ मतदान केन्द्रलाई अपांगमैत्री बनाएका उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot