जनकपुरधाम, मंसिर ४ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदान गर्न वृद्ध तथा असक्त मतदातालाई सहयोगीका रूपमा घरपरिवारका सदस्य साथमा गएर मतदान गर्ने सहमति विपरीत मत खसालेपछि विवाद उत्पन्न भएको छ ।
धनुषा जिल्लाको क्षेत्र नम्बर ४ मा पर्ने बटेश्वर गाउँपालिका वडा नं। १ स्थित लक्ष्मी मावि मतदान स्थलमा वृद्ध तथा असक्तलाई राजनीतिक दलबीच भएको सहमति विपरीत मत खसालेपछि पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादी र नेकपा (एमाले)का कार्यकर्ताबीच विवाद भएको थियो ।
परिवार बाहेकका एउटै व्यक्तिले दुई-तीन जनाको सहयोगी भई मतदान गर्न थालेपछि विवाद भएको राप्रपाका नेता भोला श्रेष्ठले बताए ।
उक्त केन्द्रमा हाल व्यापक मात्रामा नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको लक्ष्मी माविका सुरक्षा इन्चार्ज प्रकाश राईले बताए । अहिले भने शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए ।