Logo

स्वतन्त्र पार्टीको लहर आए पनि खहरेलाई खोला भनिँदैनः विष्णु रिजाल



काठमाडौं, ५ मंसिर । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो पार्टी फेरि पनि संसद्मा सबभन्दा ठूलो पार्टीका रुपमा आउने र सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । रिजालले कोसित मिलेर सरकार बनाउने भन्ने सिटको आकारले निर्धारण गर्ने समेत बताए ।
उनले गठबन्धनका कारण मतदानमा उत्साह नदेखिएको आरोप पनि लगाए । ‘स्थानीय तहको निर्वाचनमा जस्तो हिजोको निर्वाचनमा जनताको उत्साह देखिएन । नयाँ युवामा राजनीतिप्रति कुनै आकर्षण भएन । देशभित्र रोजगारी सिर्जना भएन । राजनीतिमा नैतिकता पनि देखिएन, यसलाई निराशाजनक त नभनौं तर यसको प्रमुख कारण गठबन्धन हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।
नेता रिजालले देशभरि राष्ट्रिय स्वतन्त्र पार्टीको लहरलाई खहरेको संज्ञा दिए । उनले थपे, ‘एक्जिट पोलले उसका पक्षमा माहोल देखाएको छ । एक्जिट पोलमा केही सत्यता त होला । विभिन्न देशमा सत्यको नजिक पनि हुन्छन् । हाम्रोमा त्यसको अभ्यास छैन । सत्य हो भने पनि यसलाई दलप्रतिको वितृष्णा भन्न मिल्दैन । खहरेलाई खोला भन्न मिल्दैन । हामी जनताबाट अनुमोदन भएर आउनेमा अझै पनि आशावादी छौं ।’
नेकपा एमाले प्रदेश चाहिँदैन भन्ने निष्कर्षमा नपुगेको पनि रिजालले बताए । उनले भने, ‘संघीयता चाहिँदैन, राजतन्त्र फर्काउनुपर्छ भन्ने सोच घातक छन् । यो अहिलेको बहसको विषय होइन । कम्तीमा २०, २५ वर्ष अभ्यास गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्