Logo

प्रत्येक हप्ता एउटा टोलमा पुग्छु, नेताहरू फर्कंदैनन् भन्ने जनगुनासो आउन दिन्नँः प्रेमबहादुर महर्जन



काठमाडौं, ६ मंसिर । ललितपुर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका नेता प्रेमबहादुर महर्जनले आफू नयाँ अनुहार भएकाले जनताले चुनेको बताएका छन् ।
‘ललितपुर मैले लामो राजनीतिक जीवन बिताएको ठाउँ हो । म पहिलो पटक उठेको, कहिले पनि अवसर नलिएको र नयाँ अनुहार उम्मेदवार भएकाले विश्वास गरेको जस्तो लाग्छ । म ललितपुरका सम्पूर्ण जनतालाई धन्यवाद दिन चाहन्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महर्जनले भने ।
उनले ललितपुरलाई मूर्त र अमूर्त सम्पदा जोगाउँदै सांस्कृतिक र आर्थिक नगरीका रुपमा विकास गर्ने पनि बताए । जितेपछि नेताहरु फर्कंदैनन् भन्ने जनगुनासो आउन नदिने र प्रत्येक हप्ता एउटा टोलमा पुग्ने उनको प्रतिबद्धता छ । महर्जनले थपे, ‘म खानेपानी, ट्राफिक व्यवस्थापन, लाँकुरी भन्ज्याङसम्म कच्ची सडकलाई पक्की गर्ने मेरो वाचा छ ।’ उनले रोग लाग्न नदिने, औषधि खानै नपर्ने निरोगी नेपालको अभियानलाई पनि अघि बढाउने बताए ।
ललितपुर २ मा नयाँ दलले सम्मानजनक मत पाएको नवनिर्वाचित सांसद महर्जनको टिप्पणी छ । ललितपुरका अन्य क्षेत्रमा पनि एमाले प्रतिस्पर्धामै रहेको उनले बताए । उनले भने, ‘मैले खाता खोलें । अन्य साथीहरु प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेको लहर नभएको होइन । ललितपुर लाल किल्ला हुन पनि सक्छ ।’



प्रतिक्रिया दिनुहोस्