Logo

एमाले नेतालाई धमलाको प्रश्न- बहुमत ल्याएर सरकार बनाउने कुरा कहाँ पुग्यो ?



काठमाडौं, ६ मंसिर । नेकपा एमालेका नेता केशव बडालले गठबन्धनले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।
‘मंसिर ४ को निर्वाचनमा सत्ताको चरम दुरुपयोग भयो । ठाउँठाउँमा बुथ कब्जा भएको छ । चार जना पूर्वप्रधानमन्त्रीले न्वारानदेखिको बल लगाए । धेरै ठाउँमा गोली चल्यो । सुदूरपश्चिम विश्वविद्यालयका अनेरास्ववियु अध्यक्षलाई घरमै कुटीकुटी मारिदिए । गोरखामा सत्तारुढ दलबाहेकका सबै पुनः मतदान गर्नुपर्छ भन्दा पनि सुन्ने काम भएको छैन । तैपनि जनतालाई हामीलाई जुन स्थान दिएका छन्, म त्यसलाई सम्मान गर्न चाहन्छु । सलाम गर्न चाहन्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बडालले भने ।
उनले कतिपय स्थानमा जनता लहैलहैको पछि लागेको आरोप पनि लगाए । ‘कांग्रेस खराब, एमाले खराब ? पुरानो राजनीतिक दलहरु काम लाग्दैनन् भने के हामी निर्दलीय व्यवस्थामा जान लागेका हौं त ? लहर वा ह्वीममा अघि बढ्दा कैयौं देशको अस्तित्व समाप्त भएका उदाहरण छन् । उनीहरुको पृष्ठभूमि के हो ? उद्देश्य के हो ? उम्मेदवार नै चिनेको छैन, लहैलहैको भरमा भोट हाल्ने ? उहाँहरु अनटेस्टेड हुनुहुन्छ, साह्रै असल हुनुहुन सक्नुहुन्छ, कमजोर वा खराब पनि हुन सक्नुहुन्छ ।’
सरकार कसरी बनाउने भन्ने सम्बन्धमा चारपाँच दिन पर्खनुपर्ने पनि बडालले बताए । उनले थपे, ‘कतिपय ठाउँमा चुनाव हुनै बाँकी छ । कतिपय क्षेत्रमा गणना नै सुरु भएको छैन । सरकार कसरी बनाउने भन्नेबारे चारपाँच दिन पर्खनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्