Logo

काठमाडौंका जनताले चार पटक मौका दिनु चानचुने होइन, म जुनसुकै जिम्मेवारी लिन तयार छुः प्रकाशमान सिंह



काठमाडौं, ६ मंसिर । काठमाडौं १ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले दिएको विश्वासलाई कहिल्यै नकुल्चिने वाचा गरेका छन् ।
‘यो मेरो चौथो पटकको विजय हो । काठमाडौंका मतदाताले चार पटक मौका दिनु चानचुने कुरा होइन । यो मप्रतिको विश्वास हो । जागरुक र सचेत मतदाताको विश्वासलाई म कहिल्यै कुल्चिने छैन । मेरो काँधमा धेरै ठूलो जिम्मेवारी छ । सम्पूर्ण मतदातालाई हृदयदेखि नै आभार प्रकट गर्दछु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले भने ।

चुनाव प्रचारका क्रममा उठाएका मुद्दालाई प्रतिस्पर्धी उम्मेदवारहरुलाई पनि साथ लिएर कार्यान्वयन गर्ने उनले बताए । सिंहले भने, ‘मैले केन्द्रमा प्रभाव, क्षेत्रमा विकासको नारा अघि सारेको छ । म राष्ट्रिय, प्रादेशिक र स्थानीय मुद्दालाई सम्बोधन गर्छु । टाउन हल मिटिङ रेगुलर गर्छु । मैले गरे प्रतिबद्धता पूरा गर्नका लागि आफ्ना प्रतिस्पर्धीसँग पनि परामर्श लिएर अगाडि बढ्न चाहन्छु ।’

संविधानको कार्यान्वयन सांसदको रुपमा आफ्नो प्रमुख कार्यभार भएको पनि सिंहको धारणा छ । उनले भने, ‘दुईदुई पटक संविधानसभा निर्वाचन गरी जारी भएको संविधान कार्यान्वयन गर्न बाँकी छ । तीनै तहका अधिकार कानुन बनाएर बाँडफाँट गर्नुपर्नेछ । हामी नागरिकलाई अधिकारसम्पन्न गर्न चाहन्छौं । राजनीतिक स्थिरताको जगमा संविधानको रक्षा गरेर आर्थिक सम्पन्नताको अभियानमा समन्वयात्मक भूमिका निर्वाह गर्नु मेरो जिम्मेवारी हो ।’

अब प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा सिंहले भने, ‘नेतृत्व लिन तयार भएर नै प्रायः नेताहरु समानुपातिकमा जाँदा पनि म प्रत्यक्षमा गएँ । म पहिले पनि संसदीय दलको प्रतिस्पर्धामा उत्रिएको हुँ । विधि र प्रक्रिया अनुसार पार्टीको संसदीय दलको बैठक बस्छ । निर्वाचित भएर आउने अरु साथीहरुले के गर्दा ठीक हुन्छ भन्नुहुन्छ, म त्यो गर्छु । म परिस्थिति अनुसार जुनसुकै जिम्मेवारी लिन तयार छु । म कर्ममा विश्वास गर्छु । फल भनेको त्यस्तै हो । लेखेर ल्याएको छ भने पाइन्छ ।’

तपाईं शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुहुन्छ भन्ने अर्को प्रश्नमा नेता सिंहले भने, ‘अहिले राजनीतिक परिवेश फरक भइसकेको छ । सहयोग हुन्छ कि प्रतिस्पर्धा हुन्छ, त्यतिबेला नै थाहा हुन्छ ।’ देशभरि स्वतन्त्र वा नयाँ दलप्रतिको आकर्षणलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा सिंहले थपे, ‘समय र परिस्थिति अनुसार दलहरुले चेन्ज गर्नुपर्छ, मुख्य कुरा डेलिभर हुनुपर्‍यो, कुरा होइन काम गर्नुपर्‍यो भन्ने सन्देश हो जनताको अभिमत । राजनीतिमा मात्र होइन, जीवनमा पनि अनुभव धेरै ठूलो कुरा हो । राजनीति गर्दा पनि दलहरुको ट्रयाक रेकर्ड जनताले हेर्छन् । मुख्य कुरा जनताको जिविकोपार्जनमा सहयोग हुनुपर्‍यो ।’



प्रतिक्रिया दिनुहोस्