Logo

बर्दिया–१ ‘ख’ मा निवार्चन बदरको माग गर्दै फेरी रिट दिने विनोदकुमार केसीको घोषणा



काठमाडौं, ६ मंसिर । बर्दिया–१ (ख) बाट उम्मेदवारी दिएका राप्रपाका विनोदकुमार केसीले सर्वोच्च अदातलको आदेशलाई निर्वाचन आयोगले लत्याएर निर्वाचन गरेको भन्दै विरोध जनाएका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यसमेत रहेका केसीले मुद्दाको टुंगो नलागेसम्म नामावली प्रकाशन नगर्न÷नगराउन दिएको आदेश आयोगले लत्याएको आरोप लगाएका हुन् ।

उनले बर्दिया–१ (ख)मा आफूले गत असोज २३ गते (तोकिएकै दिन) उम्मेदवारी दर्ता गराएको उल्लेख गर्दै आयोगले असोज २५ गते सार्वजनिक गरेको उम्मेदवारको नामावलीमा आफ्नो नाम नभएपछि त्यसबारे बुझ्न जाँदा कालोसूचीमा परेकोले प्रकाशन गर्न नसकिएको जवाफ पाएको स्मरण गराए ।

उनले आफ्नो नाम कालोसूचीमा परेकोमा त्यसको विरुद्धमा आफू सर्वोच्च अदालतमा न्यायको लागि पुगेको पनि बताए । आफ्नो रिटको सुनुवाई गर्दै सर्वोच्चले असोज २५ गतेको नामावली प्रकाशन नगर्न÷नगराउन आयोगलाई आदेश दिएको उनले सुनाए । अदालतले अर्को पेशी कार्तिक २० गते तोकेअनुसार सोही दिन निर्वाचन आयोगसहित विपक्षी बनाएका सबैको उपस्थिति भएपनि उक्त दिन अदालतमा पालो नआएको उनले सुनाए । सोही दिन साँझ सर्वोच्चले मंसिर १४ गतेको पेशी तोकेको स्पष्ट पारे । उनले भने,‘अन्तिम नामावली प्रकाशन नभईसकेपछि निर्वाचन रोकिनुपर्नेमा आयोगले निर्वाचन सम्पन्न गर्यो । सर्वोच्चको आदेशलाई समेत आयोगले लत्यायो । यो मुद्दा फैसला नभएसम्म निर्वाचन नगराउनु भन्ने आदेश दिएकाले निर्वाचन रोकिनुपर्थ्यो ।’

उनले भोलि (बुधबार) नै निर्वाचन बदरको माग गर्दै सर्वोच्चमा फेरी अर्को रिट दायर गर्ने जानकारी दिए । आयोगले सर्वोच्च अदालतको समेत अपहेलना गरेको उनको आरोप थियो ।

 



प्रतिक्रिया दिनुहोस्