Logo

निर्वाचन निर्देशिका बाहिर कोही पनि जान मिल्दैन, तत्काल मतगणना गर्नुको विकल्प छैनः धनराज गुरुङ



काठमाडौं, ७ मंसिर । मंसिर ४ मै मतदान सम्पन्न भइसकेर पनि स्याङ्जा २ मा अझै पनि मतगणना सुरु हुन सकेको छैन । नेकपा एमालेलगायतका दलका उम्मेदवारहरुले चापाकोट नगरपालिकाका चार वटा बुथमा विदेश गएका र मृत्यु भएका १ हजार ८० जनाभन्दा बढीको मतदान भएको भन्दै पुनः मतदानको माग गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार तत्काल मतगणना गर्नुपर्ने माग सहित धर्ना बसिरहेका छन् ।
नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा २ का उम्मेदवार धनराज गुरुङले निर्वाचन ऐन, कानुन र निर्देशिकाभन्दा माथि कुनै उम्मेदवार नभएको बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने, ‘मतदान सम्पन्न भएको तेस्रो दिनसम्म पनि मतगणना सुरु हुन नसक्नु दुर्भाग्य हो । तर निर्वाचन आयोगले रोक्नुपर्ने कुनै कारण देखिँदैन । कुनै उम्मेदवार निर्वाचन ऐन, कानुन निर्देशिकाभन्दा माथि हुन्छ र ? तत्काल मतगणनामा जनताको मतको कदर गर्दै गणना सुरु गर्नुपर्छ भन्ने हाम्रो माग छ । त्यसैले हामी धर्नामा छौं ।’
गुरुङले मतपेटिका मुचुल्का गरेर सिलबन्दी गरिसकेपछि धाँधली गरेको आरोप लगाउन नमिल्ने दाबी गरे । उनले थपे, ‘चापाकोट नगरपालिकाको वडा नं १ भानु मावि, चौघेरा मतदान केन्द्रमा हाम्रा साथी कुटिएपछि तीन घन्टा मतदान रोकिएको थियो । उनीहरुले दिलीपप्रताप खाँडलाई पनि कुटे । तैपनि हामीले शान्तिपूर्ण रुपमा सम्पन्न गरेपछि एमालेका साथीहरुले धाँधली भएको आरोप लगाइरहनुभएको छ । त्यहाँ नेकपा एमालेका बुथ एजेन्ट थिए । धाँधली भएको भए अन द स्पटमा स्थगित गराउन सकिन्थ्यो नि । किन नगराएको ? एजेन्ट समेत राख्न नसक्ने उम्मेदवारहरु अहिले एमालेको लहैलहैमा लागिरहनुभएको छ ।’
उपसभापति गुरुङले सिलबन्दी भएर आएपछि तत्काल मतगणना गर्नुपर्ने निर्वाचन निर्देशिका पालना नभएको आरोप लगाए । उनले भने, ‘मैले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मैले रोकेको छैन, त्यहीँको मतदान अधिकृतले रोकेको भन्नुभएको छ । यहाँका मतदान अधिकृतले सल्लाह हुँदै छ, हुँदैछ भन्नुभएको छ । उहाँहरु पनि निर्वाचन कानुनभन्दा बाहिर जान मिल्छ र ? मलाई लाग्छ, उहाँहरु पनि निर्देशिकाबाहिर जानुहुन्न होला । धनराजले हठ गरेको होइन, मत गणना हुनुपर्छ र हुन्छ ।’
देशभरि गठबन्धनको निर्वाचन परिणाम सन्तोषजनक नभएको गुरुङले बताए । उनले भने, ‘खासै राम्रो परिणाम आएको छैन । गठबन्धन गर्दा जुन खालको परिणाम आउनुपथ्र्यो, त्यो भएको छैन तैपनि वेट एन्ड सीको विकल्प छैन ।’ पाँच दलीय गठबन्धनको बहुमत पुग्ने सम्भावना नटरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot