Logo

माओवादी केन्द्रलाई धक्का लागेको छैन, प्रत्यक्षमा २५ सिट जित्छौंः हिमाल शर्मा



काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र)का नेता हिमाल शर्माले यसपटकको निर्वाचनमो आफ्नो पार्टीलाई धक्का लागेको भन्ने आरोप मात्र भएको बताएका छन् ।
‘यसपटक माओवादी केन्द्रको कुरा मात्र होइन, अरु दलक पनि सोचेजस्तो परिणाम आएको छैन । त्यसकारण माओवादीको पूरै धक्का भन्ने मिडियाको आरोप निराधार हो । निर्वाचनमा गएपछि कहिले जितिन्छ, कहिले हारिन्छ । हारजित स्वाभाविक हो । माओवादी प्रभाव क्षेत्र मानिने कतिपय ठाउँमा मतगणना चलिरहेको छ, कतिपय ठाउँमा मतदान हुनै बाँकी छ । अहिले पनि प्रत्यक्षमा १६ भन्दा बढी ठाउँमा माओवादीको अग्रता छ । हामी २५ भन्दा बढी सिट जित्ने अवस्थामा छौं ,’ प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
उपत्यकामा त माओवादी बढारियो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता शर्माले भने, ‘उपत्यकामा योभन्दा अगाडि पनि माओवादीले जितेको होइन । पम्फा (भुसाल) जीले एउटा जितेको हो । यसपालि उहाँलाई अप्ठ्यारो पर्यो । गत स्थानीय तह निर्वाचनमा पनि माओवादीको अवस्था यस्तै थियो । काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा पार्टीको संरचना, स्थानीय मनोविज्ञानबारे छलफल चलिरहेको छ । सायद माओवादीका कारण दूरगामी र युगान्तकारी परिवर्तन आएको जनतालाई बुझाउन सकेका छैनौं । राजनीतिक युग बदलेको कसैले हिसाब गरेको छैन ।’
दलहरुप्रति वितृष्णा पनि हारको एउटा कारण भएको शर्माले औंल्याए । उनले भने, ‘जोस जाँगर युवालाई छाडेर एउटै व्यक्ति पटकपटक लडिरहेको जनताले रुचाएनन् । पक्कै पनि हामीलाई जनताले संसदीय हुन छुट दिएका थिएनन् । तर हामी कांग्रेस र एमालेजस्तै भयौं भनेर महाधिवेशनमा पनि कुरा उठेको थियो । जनताले नसिहत दिएको हो, त्यसलाई हामी स्वीकार गर्छौं । यसबाट शिक्षा लिएका हौं । जनमतको कदर गर्छौं । जसले जितेको भए पनि व्यवस्था ल्याउने हामी हौं, जोगाउने पनि हामी हौं ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot