Logo

अंकगणित पुगे पनि कम्युनिस्टहरू मिलेर सरकार बनाउँदा उधुमै हुन्छ भन्ने लाग्दैनः राजनीतिक विश्लेषक



काठमाडौं, ७ मंसिर । राजनीतिक विश्लेषक केशव दाहालले सरकारका निम्ति फेरि पनि अंकगणितको खेलिए जनतामा झन् निराशा र वितृष्णा छाउने बताएका छन् ।
‘सरकार त कसै न कसैले बनाउनुपर्छ । तर फेरि राजनीतिक जोडघटाउमा लागेर सरकारमा बस्न र ढाल्न कचरपचर गरे जनतामा झन् निराशा र वितृष्णा आउँछ । फेरि पनि कम्युनिस्टहरुको अंकगणित पुग्न सक्छ । तर कम्युनिस्टहरु मिलेर सरकार बनाउँदा उधुम हुन्छ भन्ने लाग्दैन । तत्काल त्यो सम्भव देख्दिनँ । पुरानै ढर्रामा नजानु वेश हुन्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्लेषक दाहालले भने ।
मतपरिणाम ठूला दलको पक्षमा नजानुको कारण के हो त ? उनले थपे, ‘मुख्यतः दलहरुले डेलिभरी दिन सकेनन् । पटकपटक वाचा गरे, पूरा गरेनन् । जनताले तिमीहरुलाई क्षमा गर्न सक्दैनौं, नयाँ विकल्पमा जान्छौं भन्ने स्पष्ट संकेत गरे । लोकतन्त्रमा दलहरु आवश्यक हुन्छन्, तर अप्राकृतिक, नसुहाउँदो, असैद्धान्तिक र मुद्दाविहीन गठबन्धन स्वीकार गर्दैनौं भने । उनीहरुले भने, कि दलहरुबाटै विकल्प दिनोस् या सुध्रिनोस् । नत्र हामी आफैं नयाँ विकल्प खोज्छौं । दलहरुले विचार, मुद्दा र नेतृत्वमा विकल्प दिन सकेनन् ।’
वैकल्पिक राजनीतिको बाटो छाडेकाले आफ्ना पूर्व सहकर्मी रविन्द्र मिश्र काठमाडौं १ बाट पराजित भएको विश्लेषण पनि उनले सुनाए । दाहालले थपे, ‘रविन्द्रजीले मार्ग परिवर्तन नामको दस्तावेज लेख्दै बेला नै मैले वैकल्पिक राजनीतिको बाटो छाड्नुभयो भने हार्नुहुन्छ वा हराउनुहुन्छ । अरु मानिस हिँडिरहेको गलत बाटो हिँड्नु उहाँको गल्ती थियो ।’
आलोचना, प्रश्न र परिणामलाई अनुभूत गर्न सके राजनीतिक दलहरु सुध्रिने आशा पनि उनले व्यक्त गरे । ‘लोकतन्त्रको सुखद पक्ष विकल्प हो । पहिलो पुस्ताका नेताहरुमा यति धेरै अहंकार र मोह छ कि सुध्रिने सम्भावना छैन । अब उहाँहरुलाई आन्तरिक प्रक्रियाबाट बिदा गर्नुपर्यो । अनुहारमा फोहार लागेको छ, दलहरु ऐना पुछ्न लागे पनि फेरि पनि जनताले देखाउने छन्,’ दाहालले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot