काठमाडौं, ८ मंसिर । ओखलढुंगाका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सबै दल मिलेर देश बनाउने महाभियानमा सहभागी हुनुपर्ने औंल्याएका छन् ।
‘अब कसको सरकार बन्छ भन्ने भन्दा सरकार जनताको पक्षमा बन्छ कि बन्दैन ? सरकार कसरी चल्छ ? जनताले के पाउँछन् भन्ने कुरा प्रमुख हो । जनतालाई जितको अनुभूति दिने हिसाबले गठबन्धन मात्र होइन, जोसँग मिलेर सरकार बनाए पनि हुन्छ । सबै पार्टी नमिली मुलुक बन्दैन । नत्र हाम्रा कमीकमजोरीप्रति जनताले यसरी नै छडी लगाउने काम गर्छन् । विश्वास र एकताको राजनीति आजको आवश्यकता हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
उनले गठबन्धन दलका नेताकै नेतृत्वमा सरकार बन्ने पनि औंल्याए । खतिवडाले थपे, ‘कसले कति सिट ल्याउँछ भन्ने अहिले अनुमान मात्र हो, समानुपातिक मत गन्न धेरै बाँकी छ । २०७४ मा प्रत्यक्षमा जम्मा २३ सिट जितेर पनि पनि डेढ वर्ष सरकार चलायौं । दुई तिहाइको दम्भ लिने पार्टीको नेतृत्वमा न मुलुक चल्न सक्यो, न त लगानीको वातावरण नै सिर्जना भयो ।’
अबको प्रधानमन्त्री को बन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा खतिवडाले भने, ‘युवा पुस्ताको आकर्षण गगन थापाजीमा छ । उहाँ प्रतिभाशाली हुनुहुन्छ, जनताको आशा र भरोसा उहाँमा छ । तर त्यसका लागि संसदीय दलको नेता चुनिनुपर्छ । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बालकृष्ण खाँड र पूर्णबहादुर खड्का पनि उत्तिकै दाबेदार हुनुहुन्छ । ओइलिएको कांग्रेसलाई पानी हाल्ने, झरिलो बनाउने अनि देशलाई डोहोर्याउने काम कसले गर्न सक्छ, म एक महिनाभित्र भन्न सक्छु ।’ पार्टीमा क्षमता र योग्यता अनुसार जिम्मेवारी दिनुपर्ने पनि उनले औंल्याए । खतिवडाले भने, पुरानाको सम्मान, युवालाई प्रोत्साहन आवश्यक छ । स्याब्बास कांग्रेस र क्याबात कांग्रेस भन्ने दिन आउनु आवश्यक छ ।
उनले समाज र देश परिवर्तन कुरा फोस्रो कुरा गर्ने तर काम नगर्ने गर्दा राजनीतिक वितृष्णा छाएको पनि बताए । उनले भने, ‘म र मेरो भन्ने, हाम्रो र राम्रो नभन्ने, नाता, दाता र भ्रातालाई छान्ने, जनप्रिय होइन धनप्रिय खोज्ने, परिश्रमीभन्दा परिक्रमीलाई मान्ने अवस्था अबको पुस्ताले रुचाउँदैन ।’
उनले सम्पूर्ण ओखलढुंगाबासीलाई समेट्ने गरी काम गर्ने प्रतिबद्धता पनि जनाए । खतिवडाले भने, ‘यो मेरो व्यक्तिगतभन्दा पनि ओखलढुंगेली जनताको जित हो । अब मैले यो र त्यो होइन एउटा पार्टी भन्ने पनि होइन, समग्र ओखलढुंगा, मत दिने र नदिनेको प्रतिनिधित्व गर्छु । सबै मेरो हो भन्ने ढंगले काम गर्छु । इमानदारीपूर्वक बुद्धि र विवेक पुर्याउएर काम गर्छु ।’
खतिवडाले समानुपातिक पद्धतिमा सुधार गर्नुपर्ने पनि औंल्याए । उनले भने, हामीले समानुपातिक पद्धति नेताका नाता वा दाता ल्याउन होइन, दुःख पाएको, पिछडिएको वर्ग, क्षेत्र र सम्प्रदायका लागि ल्याएका हौं । बरु प्रतिनिधिसभा २०५ क्षेत्र नै गरौं । राष्ट्रिय सभालाई सय सिटको गरेर प्रतिनिधित्व नभएको वर्ग, क्षेत्र, लिंगलाई ल्याऔं । श्रीस्वस्थानीमा भनेजस्तो छोरा नभए मितछोरा, मितछोरा पनि नभए खोलामा बगाउनु जस्तो नगरौं ।