काठमाडौं, ९ मंसिर । कञ्चनपुर २ का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता एनपी सावदले संसदीय दलको नेता छनोटमा पार्टीभित्र कुनै विवाद नहुने दाबी गरेका छन् ।
‘अहिले मतगणना जारी भएकाले यसबारे छलफल प्रारम्भ भएको छैन । मलाई लाग्छ, पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले इच्छा राख्नुभयो भने उहाँकै नाममा सर्वसम्मति हुन्छ । मैले पार्टी सभापति नै प्रचुर सम्भावना देखेको छु । देउवाकै नाममा सहमति हुन्छ जस्तो लाग्छ । उहाँ स्वाभाविक नेता हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सावदले भने ।
रामचन्द्र पौडेल, गगन थापा आदि नेताहरुले पनि आकांक्षा राख्नुभएको छ नि भन्ने प्रश्नमा सावदले थपे, ‘पार्टीका साथीहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वाभाविक हो । यसलाई म अन्यथा रुपमा लिन चाहन्नँ । अहिलेको अवस्थामा विवाद वा फरक धार देखाएर राष्ट्रिय समस्या समाधान हुन सक्दैन । गठबन्धन सरकारको नेतृत्वका लागि संसदीय दलको नेता हुनुपर्छ भन्ने पनि छैन । मलाई लाग्छ, नेताहरुबीच छलफल र वार्ताबाट सहमतिको वातावरण तयार हुन्छ ।’
गठबन्धन बहुमतको बाटोमा गएको पनि उनको दाबी छ । उनले भने, ‘गठबन्ध्न बहुमतको बाटोतिर गइरहेको छ । सानोतिनो कमीकमजोरी भए पनि वार्ताबाट समाधान गर्न सकिन्छ । गठबन्धनको भावना अनुसार हामी अगाडि बढ्छौं । कमीकमजोरीका बाबजुद पनि गठबन्धन सफल भएको छ । बहुमत नजिक पुगेको छ । सरकार बनाउने क्षमता गठबन्धनले राख्छ । यसलाई पाँच वर्ष निरन्तरता दिनुपर्छ ।’
गठबन्धन दलहरुलाई सहज बहुमत नपुगे अधिकतम सहमतिको सरकार बन्न सक्ने पनि उनले औंल्याए । सावदले भने, यदि बहुमत पुगेन भने राप्रपा, स्वतन्त्र पार्टीलाई थप गर्न सकिन्छ । हामी एमालेबाहेकको दलहरुलाई समेटेर अधिकतम सहमतिको सरकार बनाउन सक्छौं ।
वाम एकताको कुरा पनि चलेको छ नि भन्ने प्रश्नमा सावदले वाम एकता भ्यागुताको धार्नी भएको बताए । उनले भने, उनीहरुबीचको एकता पहिले पनि सफल भएन । निर्वाचन अघि पनि एकथरीले कोसिस गरेकै हुन् । वाम एकताको कुराले राष्ट्रिय समस्या समाधान हुन सक्दैन । वैदेशिक लगानी आउँदैन, परराष्ट्र नीति सन्तुलित हुन्न । उत्पादन र रोजगारी बढ्दैन । अर्थव्यवस्था धराशयी अवस्थामा छ ।’
कांग्रेस र एमालेको समीकरण हुन सक्छ भन्ने अर्को प्रश्नमा सावदले सत्तारुढ र प्रतिपक्षबीच राष्ट्रिय मुद्दामा सहमति हुन सक्ने भए पनि मिलेर सरकार बनाउन नमिल्ने जिकिर गरे । उनले भने, ‘सरकारले गल्ती नगरोस् भनेर नै संसदमा प्रतिपक्षको व्यवस्था भएको हो । प्रतिपक्षीविहीन संसद हुन सक्दैन । जनमत बमोजिम एउटा ठूलो दलले सरकार चलाउने हो । अहिले एमाले प्रतिपक्षमा बस्नु उचित हुन्छ ।’
कांग्रेसबाट माओवादीले भोट नपाएको कुरा आएको छ नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा सावदले भने, ‘भोट ट्रान्सफर जटिल कुरा हो । हामी फरक फरक विचार र पृष्ठभूमिका दलहरु हौं । तैपनि हामीले माओवादीको भोटले जितेका छौं, माओवादीले कांग्रेसको भोटले जितेको छ । कतिपय ठाउँमा कांग्रेसको भोट कांग्रेसलाई नै परेन । अन्तर्घात होइन कि खुला रुपमा अन्यत्र भोट गयो । जनताले हमेसा एउटै पार्टीलाई भोट दिन्छ भन्ने पनि होइन ।’