Logo

यी हुन् रविसहित स्वतन्त्र पार्टीबाट जित्नेहरु (नामसहित)



काठमाडौं, ९ मंसिर । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म सार्वजनिक भएको परिणामअनुसार ६ महिना अघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात क्षेत्रमा जित हासिल गरेको छ । पार्टी सभापति रवि लामिछाने, डा.तोसिमा कार्की, सोविता गौतम, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, गणेश पराजुली र हरि ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका छन् ।

पार्टीका सभापति रबि लामिछानले प्रतिनिधि सभा सदस्यमा चितवन–२ बाट ४९ हजार २६१ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए ।

यसैगरी, डा.तोसिमा कार्कीले ललितपुर क्षेत्र नं. ३ बाट विजयी हासिल गरेकी छिन् । पाटन अस्पतालको जागिर छाडेकी डा. कार्कीले ३१ हजार १३६ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनले उर्जामन्त्री पम्फा भुसाल र नेकपा एमालेका अमृत खड्कालाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।

त्यस्तै, रवि लामिछानेले नेतृत्व गरेको पार्टीबाट काठमाडौं–६ मा शिशिर खनालले जित हात पारेका छन् । पूर्वमन्त्री भिमसेनदास प्रधान र एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गर्दै १४ हजार २०४ मत ल्याएर खनाल विजयी भएका हुन् ।

काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीया सोविता गौतम निर्वाचित भएकी छिन् । उनी साढे तिन हजार मतान्तरले प्रतिपस्र्धी नेकपा एमालेका मणि फुयाललाई पछि पराजित गर्दै १५ हजार २२९ मत ल्याएर विजयी भएकी हुन् ।

नेकपा एमालेका उम्मेदवार श्याम घिमिरेलाई पराजित गर्दै कामठाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् । उनले ८ हजार ७ सय मत प्राप्त गरेर विजयी भएकी हुन् । सो क्षेत्रमा वाम गठबन्धनबाट उम्मेदवारी दिएकी मानुषी यमी भट्टराई तेस्रो भइन् ।

चितवन–१ मा ३४ हजार १९८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले विजयी हासिल गरेका छन् । उनले नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ र नेपाली कांग्रेसका डा.विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका थिए । उनीहरुलाई फराकिलो मतान्तरले पराजित गर्दै ढकाल निर्वाचित भएका हुन् ।

सबैले आशा गरेका लौरो अभियानका संयोजक सुमन सायमीलाई पराजित गर्दै काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठले १० हजार १०५ मत ल्याएर विजयी हुँदा सायमी ५ हजार ८८९ मतमा रोकिए । पर्यटन मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले ४ हजार ८७७ मतमा चित्त बुझाउनु परेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot